इटाली पोल्यान्डसँग बराबरीमा रोकियो, शीर्ष स्थान भने यथावत्

काठमाडौं। यूईएफए नेसन्स लिगमा पोल्यान्डविरुद्ध गोलरहित बराबरी खेलेपछि इटाली समूह एकको शीर्ष स्थानमा कायमै छ।

रोबर्टो मान्चिनीको इटाली प्रतियोगितामा अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ। बराबरी खेले पनि इटाली पाँच अंकका साथ समूहको शीर्ष स्थानमा छ। पोल्यान्ड चार अंकका साथ तेस्रो स्थानमा छ।

गत साता सम्पन्न मैत्रीपुर्ण खेलमा इटाली र पोल्यान्ड दुवैले फराकिलो जित निकालेका थिए। तर गएराति दुवै टीमका अग्रपंक्तिले विपक्षी रक्षापंक्तिलाई तोड्न सकेनन्। पोल्यान्डका स्टार रोबर्ट लेवनडोवस्कीले विपक्षी पोष्टमा आक्रमण बुन्न असफल रहे।

दोस्रो हाफमा चेल्सीका रक्षक इमर्सन पाल्मिएरीले इटालीका लागि राम्रो अवसर खेर फाले। फेडरिको चिइसाको क्रसमा इमर्सनको हेडिङ थोरैले बाहिरिएको थियो।

समूह एकमै नेदरल्यान्ड र बोस्निया एण्ड हर्जगोभिनाले पनि गोलरहित बराबरी खेले। नेदरल्यान्ड चार अंकका साथ दोस्रो स्थानमा छ भने दुई अंक जोडेको बोस्निया एण्ड हर्जगोभिना पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्