तेस्रो खेलमा हैदराबादको पहिलो जित, दिल्ली १५ रनले पराजित
काठमाडौं। रशिद खानको तीन विकेटप्रेरित सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ।

अबुधावीस्थित शेख जाइद रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले १६२ रनको योगफल तयार पारेको थियो।

१६३ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि शिखर धवनले ३४ तथा रिषभ पन्तले २८ सिमरन हेटमेयरले २१ र कागिसो रवाडाले १५ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

हैदराबादका लागि ४ ओभरमा मात्र १४ रन खर्चेर रशिद खानले ३ विकेट लिए। त्यस्तै, भुवनेश्वर कुमारले २ तथा खलिल अहमद र नटराजनले १/१ विकेट लिए।

पहिलो इनिङमा हैदराबादका लागि बेयरिस्टोले ४८ बलमा २ चौका र १ छक्कासहित ५३ रनको योगदान गरेका थिए।

त्यस्तै कप्तान डेभिड वार्नरले २२ बलमा ३ चौका र २ छक्कासहित ४५ तथा केन विलियमसनले २६ बलमा ५ चौकासहित ४१ रन जोडेका थिए।

दिल्लीका लागि कागिसो रवाडा र अमित मिश्राले २/२ विकेट लिएका थिए।

हैदराबाद यसअघि पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग १० रन तथा कोलकाता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो।

त्यस्तै दिल्लीले पहिलो खेलमा किङ्ग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा र दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सलाई ४४ रनले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्