युईएफए उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा डी ब्रुयना, लेवान्डोवस्की र नुयुर: मेसी चौथो, रोनाल्डो १०औं स्थानमा
एजेन्सी। केभिन डी ब्रुयना, रोबर्ट लेवान्डोवस्की र म्यानुअल नुयुर गत सिजनको सर्बोत्कृष्ट युरोपियन फुटबलरको मनोनयनमा शीर्ष तीन भित्र परेका छन्।

हालैमात्र इङल्यान्डका व्यावसायिक खेलाडीहरुको संगठन पिएफएबाट वर्षको उत्कृष्ट खेलाडी घोषित भएका म्यानचेस्टर सिटीका बेल्जियन प्लेमेकर डी ब्रुयनासँग शीर्ष तीनमा परेका बाँकी दुई खेलाडी लेवान्डोवस्की र नुयुर बायर्न म्युनिखका हुन्। बायर्नले वितेको सिजनमा च्याम्पियन्स लिग र जर्मन बुन्डेसलिगासहित तेहोरो उपाधि जितेको थियो।

लिभरपुलका रक्षक भर्जिल भान डाइकले गत सिजनमा बार्सिलोनाका लियोनेल मेसी र युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो उपाधि जितेका थिए।

गत वर्ष शीर्ष तीनमा रहेका खेलाडीहरु यसपाली मनोनयनमा नपर्दा पहिलो पटक नयाँ विजेता आउने पक्का भएको छ। बायर्नले तेहोरो उपाधि जितेको सिजनमा गोलकिपर नुयुरले एउटा खेलमात्र गुमाएका थिए। च्याम्पियन्स लिगका ६ खेलमा जर्ननीका अन्तर्राष्ट्रिय गोलकिपरले बायर्नको पोष्ट सुरक्षित राख्न सफल भएका थिए।

यसैगरी बायर्नले ऐतिहासिक सफलता हासिल गर्दा पोलिस स्ट्राइकर लेवान्डोवस्कीको महत्वपूर्ण योगदान थियो। हान्सी फ्लिकको टोलीबाट वितेको सिजनमा ४७ खेल खेल्दै लेवान्डोवस्कीले ५५ गोल गरेका थिए।

उता प्रिमियर लिगमा सिटीका लागि १३ गोल गरेका डी ब्रुयनाले २० गोलका लागि अवसर सिर्जना गरेर कीर्तिमान कायम गरेका थिए।

शीर्ष तीन भित्रको वरियताक्रम नछुट्याए पनि युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले शीर्ष १० मा परेका खेलाडीको नाम भने सार्वजनिक गरेको छ।

युइएफएका अनुसार बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड मेसी संयुक्त रुपमा पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिली स्टार नेइमारसँग चौथो स्थानमा छन्। युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने १०औं स्थानमा छन्।

यसैगरी बायर्नका जर्मन स्टार थोमस मुलर छैटौं स्थानमा रहँदा पिएसजीका फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे सातौं, लिभरपुलका स्पेनिस मिड्फिल्डर थियागो आलाकान्तारा आठौं तथा बायर्न म्युनिखका जर्मन रक्षक जोशुआ किमिच नवौं स्थानमा छन्।

रोनाल्डोले यसअघि तीन पटक यो उपाधि जितिसकेका छन् भने मेसीले दुई पटक युरोपको सर्वोत्कृष्ट खेलाडी पुरस्कार हात पारेका छन्।

प्रशिक्षक र पत्रकारहरुको मतका आधारमा दिइने यो पुरस्कार आन्द्रियास इनियस्टा, फ्रयांक रिबेरी, लुका मोडरिच र भान डाइकले पनि एक–एक पटक हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्