स्वारेज एट्लेटिको जाने पक्का!
एजेन्सी। बार्सिलोनाले सहमति जनाएपछि उरुग्वेली स्ट्राइकर लुइस स्वारेज स्पेनिस ला लिगाको प्रतिद्वन्द्वी एट्लेटिको मड्रिड सरुवा हुने भएका छन्।

बार्सिलोनाले पछिल्लो समय स्वारेजलाई क्याम्प नोउमा खास महत्व दिएको थिएन। आफूले राख्न नचाहेका खेलाडीलाई नि:शुल्क सरुवाका लागि बार्सिलोनाले स्वतन्त्र छोडेपछि स्वारेजको मड्रिड सरुवा हुने भएको हो।

एट्लेटिकोअघि स्वारेज इटालियन सिरी ‘ए’ को च्याम्पियन युभेन्टस सरुवाको तयारीमा थिए। तर, पासपोर्टसम्बन्धि समस्याका कारण उनी टुरिन जान पाएका थिएनन्।

युभेन्टस प्रस्थानको प्रयास असफल भएपछि स्वारेजलाई ला लिगाको प्रतिद्वन्द्वी क्लबमा जानबाट बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बाटोमेउले रोकेका थिए। तर पछि स्वारेजका एजेन्ट र क्लबको व्यवस्थापनबीच सहमति भएपछि उनी स्वतन्त्र भएका हुन्।

स्वारेज र एट्लेटिकोबीच पारिश्रमिकको विषयमा सहमति भइसकेको बताइएको छ। समाचारहरुमा जनाइएअनुसार ३३ वर्षे फरवार्डका लागि क्लबले तिर्ने पारिश्रमिकको आधार मुल्य ४० लाख युरो हुनेछ।

बाँकी प्रदर्शनका आधारमा पारिश्रमिक थपिने विभिन्न सर्तहरु हुनेछन्। जसअनुसार बार्सिलोनामा रहँदा वार्षिक रुपमा ३ करोड युरो कमाउँदै आएका स्वारेजको आम्दानी अब आधा घट्नेछ।

बार्सिलोनामा ६ वर्ष विताउने क्रममा स्वारेजले २८३ खेल खेल्दै १९८ गोल गरेका थिए। २०१४ मा उनले लिभरपुलबाट ७ करोड ४० लाख युरोमा बार्सिलोनासँग सम्झौता गरेका थिए।

बार्सिलोनाबाट उनले चार पटक घरेलु ला लिगा, चार पटक कोपा डेल रेको उपाधि जित्नुका साथै च्याम्पियन्स लिग तथा क्लब विश्वकपको पनि उपाधि उचालेका थिए।

प्रतिक्रिया दिनुहोस्