टोटेनह्यामको रोमाञ्चक जितमा सनको चार गोल
एजेन्सी। सन ह्युङ मिनको चार गोलप्रेरित टोटेनह्यामले इङ्लिस प्रिमियर लिगमा आज साउथह्याम्टनलाई ५-२ को नतिजामा पराजित गरेको छ।
साउथह्याम्टनको मैदान सेन्ट मेरिज रंगशालामा भएको खेलको ३२औं मिनेटमा ड्यानी इंग्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको खेलसकिन एक मिनेट बाँकी रहँदा सनले गरेको बराबरी गोलसँगै टोटेनह्याम खेलमा फर्किएको थियो।
दोस्रो हाफमा आक्रमक शैलीमा मैदानमा उत्रिएको टोटेनह्यामका लागि सनले ४७औं मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाए।
ह्यारी केनले दिएको पासलाई ६४औं मिनेटमा जाली चुमाउँदै ह्याट्रिक पूरा गरेका सनले त्यसको ९ मिनेट नबित्दै व्यक्तिगत चौथो गोल गरे।
सनले गरेका चारै गोलका लागि पास दिएका केनले ८२औं मिनेटमा टोटेनह्यामका लागि पाँचौं गोल गरेका थिए।
निर्धारित समयको अन्तिम मिनेटमा पाएको पेनाल्टीमार्फत इंग्सले व्यक्तिगत दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
जितसँगै टोटेनह्यामले दुई खेलबाट तीन अंक जोडेको छ।
प्रतिक्रिया दिनुहोस्