अक्टोबरमा हाप्किडोको दोस्रो राष्ट्रिय भर्चुअल च्याम्पियनसिप

काठमाडौं। नेपाल मार्शल आर्ट्स हाप्किडो संघले आगामी अक्टोबरमा भर्चुअल च्याम्पियनसिप आयोजना गर्ने भएको छ। संघका महासचिव सुवर्ण बिसीका अनुसार च्याम्पियनसिप आगामी १०-१५ अक्टोबरमा हुनेछ।

संघले आयोजना गर्न लागेको यो पहिलो भर्चुअल च्याम्पियनसिप हो। समग्रमा भने हाप्किडोको यो दोस्रो भर्चुअल च्याम्पियनसिप हो। यसअघि पहिलो भर्चुअल च्याम्पियनसिप नुवाकोट जिल्ला हाप्किडो संघले आयोजना गरेको थियो।

च्याम्पियनसिपमा सेल्फ डिफेन्स, हाई फल/लङ फल र वेपन टेक्हनिकमा प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा सहभागी खेलाडीले १० देखि १५ अक्टोबरभित्र आफ्नो भिडियो पठाइसक्नुपर्ने छ।

खेलाडीहरुले पठाएको भिडियोको आधारमा च्याम्पियनसिपको नतिजा २० अक्टोबरमा सार्वजनिक गरिने संघले जनाएको छ। विजेता खेलाडीहरुले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। संघले कोभिड १९ महामारीको समयमा समेत आफ्ना खेलाडीलाई खेलप्रति सक्रिय बनाइराख्न भर्चुअल प्रतिस्पर्धाको आयोजना गरिएको संघले जनाएको छ।

"कोभिड १९ संकटको यो समय सबैमा त्रास फैलिएको छ। नियमित अभ्यास र प्रतिस्पर्धामा हुने खेलाडीसमेत लामो समय घरभित्रै बस्नुपर्दा थप समस्या थपिएको छ", संघका महासचिव बिसी भन्छन्, "खेलाडीहरुलाई यो समस्याबाट मुक्त गराउनका लागि पनि भर्चुअल च्याम्पियनसिपको आयोजना गरिएको हो।"

संघले प्रतिस्पर्धामा सहभागी हुनेभिडियो तीनदेखि पाँच मिनेटसम्मको हुनुपर्ने जनाएको छ। प्रतिस्पर्धामा सहभागी सबैले हाप्किडोको ड्रेस लगाएको हुनुपर्ने तथा भिडियोसँगै सहभागी खेलाडीको पूरा नाम र ठेगाना पनि राखिएको हुनुपर्ने नियम संघले बनाएको छ।

प्रतिक्रिया दिनुहोस्