अर्को वर्ष ओलम्पिक जसरी पनि हुन्छ: आईओसी उपाध्यक्ष
एजेन्सी। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का उपाध्यष जोन कोट्सले कोरोना भाइरसको महामारी नियन्त्रणमा नआए पनि अर्को वर्ष विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ‘टोकियो ओलम्कि’ गर्ने बताएका छन्।

चीनको उहानबाट २०१९ को अन्त्यमा पहिलो पटक देखिएर छोटो समयमै पूरा विश्वलाई त्राहिमाम बनाएको कोरोना भाइरस महामारीका कारण २०२० जुलाईमा हुने तय भएको ओलम्पिक खेल एक वर्षका लागि स्थगित गरिएको थियो।

जापान सरकार, जापानी आयोजक, आईओसी तथा आईओसीका सदस्य राष्ट्रहरुको सामूहिक निर्णयमा २०२१ जुलाई २३ बाट सुरु हुने गरी एक वर्षका लागि ओलम्पिक स्थगित गरिएको थियो।

आईओसीले यसअघि पनि ओलम्पिक आयोजनामा २०२१ भन्दा ढिलो नगर्ने बताइसकेको थियो।

२०११ मा जापानमा आएको सुनामी र भुइचालोको उदाहरण दिँदै आईओसी उपाध्यक्ष कोट्सले भने, “सुनामीले पूरा देश ध्वस्त बनाए पनि जापानले ओलम्पिक संरचनाका पूर्ननिर्माण खेलभावनाअनुसार समयमै गरेको थियो। अहिले पनि कोभिडलाई जित्दै त्यसैगरी काम हुनेछ। सुरुङ टुङ्गिएपछि उज्यालोको किरण आएजस्तै गरी कोरोनापछि ओलम्पिक हुनेछ।”

टोकियो ओलम्पिक २०२० जुलाईमै थोरै दर्शकका साथ गर्न सकिने विकल्प भए पनि कोरोना महामारीको डरले एकैजना दर्शक रंगशालासम्म नआउलान भन्ने डरका कारण गर्न नसकिएको स्थानीय आयोजना प्रमुख तोशिरो मुतोले भनेका थिए।

उनले उदघाटन तथा समापन समारोहको भव्यतामा सम्झौता गर्नुका साथै सहभागी देशबाट आउने पदाधिकारी तथा अन्य अधिकारीको संख्या घटाएर गर्न सकिने विकल्पको विषयमा कुरा गरेका थिए।

२०२० मा हुने तय भएको ओलम्पिकमा २०० देशका ११ हजारभन्दा बढी खेलाडीको सहभागिता निश्चित थियो। हाल जापानका सबै अन्तर्राष्ट्रिय सिमा–नाका बन्द छन्। तर, अर्को वर्षसम्म खुलिसक्ने आईओसी तथा स्थानीय आयोजकले आशा लिएका छन्।

तोसिरो मुतोले कोरोना भाइरसको खोप तयार हुनुको ओलम्पिक आयोजना गर्ने निर्णयसँग कुनै सम्बन्ध नरहेको बताए। तर, विशेषज्ञहरुले खोप विकास नभएसम्म ओलम्पिक जस्तो ठूलो खेलमेला आयोजना गर्नु जनस्वास्थ्यका दृष्टीले सुरक्षित नहुने बताएका थिए।

“खोप तयार भयो भने राम्रो कुरा हो। तर, खोपबिना ओलम्पिक आयोजना गर्न सकिँदैन भन्ने होइन। ओलम्पिक आयोजना गर्न खोपको उपलब्धता कुनै सर्त होइन,” उनले भने।

टोकियो २०२० का अध्यष योशिरो मोरीले २०२१ मा आयोजना गर्न नसके ओलम्पिकको यो संस्करण रद्द गर्नुपर्ने बताएका थिए।

ओलम्पिक खेलकुद यसअघि विश्व युद्धका कारण एकपटक बाहेक रद्द भएको इतिहास छैन।

प्रतिक्रिया दिनुहोस्