मुख्य प्रशिक्षक ग्यारी स्टेड २०२३ को विश्वकप सम्म न्युजिल्यान्डमै रहने

काठमाडौं। न्युजिल्यान्ड क्रिकेट टीमका मुख्य प्रशिक्षक ग्यारी स्टेडले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेका छन्। नयाँ सम्झौता अनुसार स्टेड २०२३ को विश्वकप सम्म न्युजिल्यान्डमै रहनेछन्।

न्युजिल्यान्डको क्रिकेट बोर्डले बुधबार स्टेडसँग नयाँ सम्झैता भएको जनाएको हो। यससँगै न्युजिल्यान्डले अर्को वर्ष भारतमा हुने ट्वान्टी–२० विश्वकप र २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा पनि स्टेडकै प्रशिक्षणमा खेल्ने भएको छ।

माइक हेसनले २०१८ मा राजीनामा दिएपछि स्टेडले दुई वर्षका लागि न्युजिल्यान्डको क्रिकेट सम्हाल्ने सम्झौता गरेका थिए।

स्टेडको प्रशिक्षणमा न्युजिल्यान्डले २०१९ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गरेका थिए। फाइनलमा इङ्ल्यान्डविरुद्ध निर्धारित ओभरमा खेल ‘टाई’ भएपछि सुपर ओभरबाट नतिजा आएको थियो। जसमा घरेलु टीम इङ्ल्यान्ड विजयी भएको थियो।

‘‘खेलाडी, सहयोगी स्टाफ र न्युजिल्यान्ड क्रिकेटले दिएको समर्थनको म सराहना गर्छु। र आशा छ यो आत्मविश्वासलाई कायम राख्न सक्छु,’’ प्रशिक्षक स्टेडले भने, ‘‘खेलाडीको यो समूह टीमका रूपमा अघि बढ्दैछ। त्यसैले तीनै स्वरुपको क्रिकेटमा हामीले राम्रो प्रदर्शन गर्नेमा म सकरात्मक छु।’’

कोभिड–१९ का कारण न्युजिल्यान्डले विगत ६ महिनादेखी क्रिकेट खेलेको छैन र भविष्यको खेल तालिका पनि अनिश्चित छ। तथापी न्युजिल्यान्ड क्रिकेट बोर्डले अर्को समरसम्म ३७ दिनको खेलतालिका निश्चित गर्न लागेको छ।

जसअनुसार न्युजिल्यान्डले वेष्ट इन्डिज र पाकिस्तानविरुद्ध दुई टेष्ट र तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। त्यस्तै अस्ट्रेलियाविरुद्ध पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय र बंगलादेशविरुद्ध तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल समावेश हुनेछ।

त्यसका चारै देश सहमत भइसकेको जनाइएको छ। वेष्ट इन्डिज भने नोभेम्बरको अन्तिममा न्युजिल्यान्ड पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्