जापानी सुपरस्टार ओसाका तेस्रो चरणमा

काठमाडौं। चौथो वरीयताप्राप्त जापानकी नाओमी ओसाका यूएस ओपनको तेस्रो चरणमा स्थान बनाउन सफल भएकी छन्।

ओसाकाले २०१८ मा पहिलो पटक ग्राण्ड स्लामको उपाधि जितेकी थिइन्।

ओसाकाले बुधबार आर्थर एशे रंगशालामा इटालीकी क्यामिला जियोर्गीमाथि ६–१, ६–२ को सहज विजय हासिल गरेकी थिइन्।

‘‘मेरो सर्भिस राम्रो भयो भन्ने लाग्छ,’’ जनवरीबाट नयाँ प्रशिक्षक विम फिसेटसँग प्रशिक्षण थालेकी ओसाकाले भनिन्, ‘‘मेरो प्रदर्शनबाट खुशी छु। प्रतियोगितामा लामो यात्रा तय गर्नेमा सकरात्मक छु।’’

ओसाकाले अब मार्टा कोस्ट्युकसँग प्रतिस्पर्धा गर्नेछिन्। युक्रेनकी कोस्ट्युकले ३१औं वरीयताप्राप्त लातभियाकी अनास्तासिजा सोवास्तोवालाई ६–३, ७–६(७/५) को सेटका पराजित गरेकी थिइन्।

त्यस्तै छैटौं वरीयताकी पैत्रा केभितोभाले तेस्रो चरणमा स्थान बनाएकी छन्। चेक गणतन्त्रकी केभितोभाले युक्रेनकी क्याटेरिना कोज्लोभालाई ७–६(७/३), ६–२ को सेटमा हराएकी हुन्।

२०११ र २०१४ को विम्बल्नड विजेता केभितोभाले अब अमेरिकाकी जेसिका पेगुलासँग प्रतिस्पर्धा गर्नेछिन्। पेगुलाले बेल्जियमकी क्रिष्टिन फ्लिपकेन्सलाई ७–६(७/१), ६–७(३/७), ६–३ को सेटमा पराजित गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्