सन्दीप सम्मिलित जमैकाको सातौँ खेल आज राति

नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो सातौँ खेल आज राति खेल्दै छ।

सन्दीपको टोली जमैकाले आज राति पौने आठ बजे ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सातौँ खेल खेल्ने छ। ट्रिन्बागो नाइट राइडर्स उक्त प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ।

अहिलेसम्म खेलको ६ खेलबाट १२ अङ्क जोड्दै ट्रिन्बागो तालिकको शीर्ष स्थानमा छ। यसपालि ट्रिन्बागो सिपिएलको उपाधिको सबैभन्दा दाबेदारका रुपमा देखापरेको छ।

जारी प्रतियोगितामा सन्दीपको टोली जमैकाको खेल प्रदर्शन मध्यमस्तरको रहेको छ। जमैकाले हालसम्म खेलको ६ खेलमा तीनका जित तथा तीनमा हारका साथ ६ अङ्क जोडेको छ। जमैका अङ्क तालिकाको चौथो स्थानमा छ।

जमैकाको हालसम्मको खेल प्रदर्शन मध्यम किसिमको रहे पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन्। उनले हालसम्म खेलेका ६ खेलमा नौ विकेट लिइसकेका छन्।

सन्दीपले सेन्ट लुसिया विरुद्धको पहिलो खेलमा एक विकेट लिएका थिए। उक्त खेलमा उनले चार ओभरमा २३ रन खर्चिएका थिए। यस्तै दोस्रो खेलमा सन्दीपले एक विकेट लिएका थिए।

उनले ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा ३० रन दिएका थिए। गुयाना अमेजन वारियर्सविरुद्धको तेस्रो खेलमा सन्दीपले दुई विकेट लिए। उनले सो खेलमा चार ओभरमा ८ रन मात्र खर्चिए।

उक्त खेलमा उनले हालसम्मकै उत्कृष्ट खेल देखाएका थिए। यसैगरी आफ्नो चौथो खेलमा सन्दीपले एक विकेट लिए। गुएना अमेजन वारियर्स विरुद्धको खेलमा उनले चार ओभरमा मात्र १२ रन खर्चिए।

यस्तै पाँचौ खेलमा उनले दुई विकेट लिए। बर्बाडोस ट्राइडेन्ससितको खेलमा उनले ४ ओभरमा १६ रन दिएका थिए। यसैगरी सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सविरुद्धको छैटौँ खेलमा सन्दीपले दुई विकेट लिएका थिए। उक्त खेलमा उनले चार ओभरमा २९ रन विपक्षी टोलीलाई दिएका थिए।

जमैकाले खेलेका हालसम्मका ६ वटै खेलमा सन्दीपले आफ्नो स्थान सुरक्षित राखेका छन्। उनले सबै खेलमा किफायती बलिङ गर्दै आएका छन्। विपक्षी टोलीका खेलाडीले उनको बलमा खासै रन बनाउन सकेका छैनन्।

त्यसैले आजको खेलमा समेत सन्दीपले खेल्न पाउने सम्भावना अत्यधिक रहेको छ। यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्।

पाउने भए क्रिकेट खेलाडीले पारिश्रमिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षदेखि पाउन बाँकी पारिश्रमिक डेढ वर्षपछि पाउने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको एक वर्षको पारिश्रमिक पठाउने भएको छ।

आइसीसीले सन् २०१९ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडिओ एनालिस्टको पाउन बाँकी पारिश्रमिक नेपाल क्रिकेट सङ्घ (क्यान) को खातामा पठाउन लागेको हो। क्यानको खातामा रकम आउन दुई तीन दिन लाग्ने र उक्त रकम रकम चाँडै नै खेलाडी र भिडियो एनालिस्टलाई उपलब्ध गराइने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

राष्ट्रिय टोलीका खेलाडीले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन्। यसपटक आईसीसीले खेलाडीको पारिश्रमिकमा विगतमा भन्दा मासिक रु १० हजार बढी पारिश्रमिक पाउने छन्।

क्यानले नेपाली खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरेको छ। उनीहरुमध्ये ए श्रेणीमा रहेका खेलाडीले मासिक रु ४५ हजार, बी श्रेणीमा रहेका खेलाडीले रु ३५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीले रु २५ हजार पारिश्रमिक पाउने छन्।

क्यानले यसअघि ए श्रेणीमा रहेकालाई मासिक रु ३५ हजार, बी श्रेणीमा रहेकालाई रु २५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीलाई रु १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो। आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले भदौ पहिलो साता २३ जनाको नाम पठाएको थियो।

क्यानले पठाएको खेलाडीको सूची क्यान निलम्बन फुकुवा हुनुअघिकै हो। सन् २०१९ को पारिश्रमिकका लागि खेलाडीको सूची आईसीसीलाई पठाइएको थियो। यसअघि क्यान निलम्बनमा रहेको अवस्थामा खेलाडीको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउँदै आएको थियो।

आईसीसीले सन् २०१८ मा दुई वर्षको पारिश्रमिक राष्ट्रिय खेलकूद परिषद् (राखेप) मार्फत पठाएको थियो। त्यसयता खेलाडीले आफ्नो पारिश्रमिक पाउन सकेका थिएनन्। क्यानले खेलाडीलाई पारिश्रमिकका लागि यसअघि तीन वर्गमा विभाजन गरेको थियो।

त्यही अनुसार नै २१ खेलाडीका लागि आईसीसीले पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो। ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी, बी श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी तथा सी श्रेणीमा दिलीप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन्।

भिडियो एनालिस्टका रुपमा रमन शिवाकोटीको नाम आईसीसीलाई पठाइएको थियो। यसपटक राजु रिजालको नाम थप गरिएको क्यानले जनाएको छ।

विक्रम गिरी/रासस

प्रतिक्रिया दिनुहोस्