भर्चुअल राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानीलाई दुई स्वर्ण

काठमाडौं। मुलपानी तेक्वान्दो डोजाङले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा दुई स्वर्ण जितेको छ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा मुलापानीको २ स्वर्ण निश्चित भएको हो।

त्यसबाहेक मुलपानीले ३ रजत र २ कांस्य पनि हात पा¥यो। विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १÷१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्।

यु–१२ पुरुष एकलमा मुलपानीका भिजन तामाङ पहिलो भए। उनले ६.३३ अंक जोडे। काभ्रेस्थलीका मिराज केसी (६.२३) दोश्रो तथा मुलपानीका रोनिश नगरकोटी (६.१३) र मुलपानीकै ईश्वर पराजुली (६.०३) तेश्रो भए।

सोही स्पर्धाको महिलामा विजेश्वरीकी पुर्णिमा बस्नेतले स्वर्ण जितिन्। पुर्णिमाले ६.९३ अंक जोडिन्। मुलपानीकी मेलिना राई (६.५०) ले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा (६.३०) र काभ्रेस्थलीकी सुस्मिता कार्की (६.२०) ले कास्य हात पारे।

यु–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया ६.२६ अंकसहित शीर्ष स्थानमा रहे। मुलपानीका आयुश ढुंगेल (६.१४) द्वितीय तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ (६.१३) र चन्द्रसूर्यका योग्य राई (६.०६) तृतीय बने। त्यसै स्पर्धाको महिलामा चितवनकी आचल बाज्पईं पहिलो भइन्। आचलले ६.४६ अंक प्राप्त गरिन्।

६.३३ अंकसाथ मुलपानीकी प्रगति कुइकेल दोश्रो भइन्। विजेश्वरीकी प्राप्ति पुन (६.१६) तथा काभ्रेस्थलीकी विनिशा खड्गी (६.१०) ले तेश्रो स्थान हासिल गरे।

पुरुष ३१–४० वर्ष उमेरसमूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए। उनले ५.९३ अंक जोडे। मैत्रीका रामचन्द्र व्यञ्जन्कार (५.६६) दोश्रो तथा बागलुङका नन्द विष्ट (५.५६) र योन्सुफका दुर्गामान तामाङ (५.३६) तेश्रो भए। उक्त स्पर्धाको महिलामा मुलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन्। तृप्तिले ५.४३ तथा जानकीले ५.१६ अंक जोडे।

दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्। पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन्। दोश्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्ने छ। अध्यक्ष खड्कासहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्