फुटबलमा सरुवा बजार: लाम्पार्ड आक्रामक, कोम्यानको योजनामा स्वारेज छैनन्
एजेन्सी। चेल्सीका प्रशिक्षक फ्रयांक लाम्पार्डले टोली पुर्नसंरचना गर्ने अभियानमा लेस्टरका लेफ्ट ब्याक बेन चिलवेललाई स्टामफोर्ड ब्रिज भित्रयाउने सम्भावनाको नजिक पुगेका छन्।

टेलिग्राफले जनाएअनुसार यसै साताको अन्त्यसम्ममा दुई क्लब र खेलाडीबीच सम्झौता हुनेछ। झण्डै ५ करोड पाउन्ड सरुवा रकममा सहमति भइसकेको उक्त पत्रिकाले जनाएको छ।

लाम्पार्डले भित्र्याउन चाहेका खेलाडीको सूचीमा इङल्यान्डका अन्तर्राष्ट्रिय रक्षक २३ वर्षे चिलवेल मात्र छैनन्। अनुभवी ब्राजिली रक्षक थियागो सिल्भाले पनि दुई वर्षका लागि चेल्सीले गरेको प्रस्तावमा सकारात्मक प्रतिक्रिया जनाएको बताइएको छ।

आइतबार राति च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग १-० ले पराजित भएपछि पेरिस सेन्ट जर्मन (पिएसजी)का कप्तान सिल्भाले पेरिस छोड्ने घोषणा गरेका थिए।

लन्डनको इभिनिङ स्ट्यान्डर्डले जनाएअनुसार ३५ वर्षे सिल्भा र चेल्सीबीच भोली बुधबारसम्ममा सम्झौता भइसक्नेछ।

यसैगरी बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस स्वारेज स्वतन्त्र सरुवाका लागि उपलब्ध हुने सम्भावनाको चर्चा चलेपछि युरोपका सबै क्लबहरु चनाखो भएका छन्।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजलाई उनी आफ्नो योजनामा नभएको प्रष्ट पारिसकेको स्थानीय क्याटालोनियन रेडियो स्टेसनले जनाएको छ।

३३ वर्षे स्वारेज बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने सर्वकालिन खेलाडीको सूचीमा १९८ गोलका साथ तेस्रो स्थानमा छन्। तर उनी चाढै अर्को क्लबको जर्सीमा देखिन सक्ने भएका छन्।

इङलिस प्रिमियर लिगको अर्को टोली उल्भसले आर्सनलका मिडफिल्डर एन्स्ले मेइटल्यान्ड नाइल्सलाई भित्रयाउने दौडमा प्रतिस्पर्धीलाई उछिन्ने पक्का जस्तै भएको स्काई स्पोर्टसले जनाएको छ।

टोलीको गहिराई थप मजबुत बनाउने योजनामा रहेका उल्भसका प्रशिक्षक नुनो इस्पिरिटो सान्टो फुल ब्याक पोजिसनमा पनि उत्तिकै प्रभावशाली प्रदर्शन गर्न सक्ने भर्सटाइल खेलाडी २ वर्षे नाइल्सका प्रशंसक हुन्।

प्रतिक्रिया दिनुहोस्