बायर्न म्युनिखलाई भाग्यको साथ मिल्यो- क्लोप

काठमाडौं। लिभरपुललाई गत वर्ष च्याम्पियन्स लिगको उपाधि जिताएका प्रशिक्षक योर्गान क्लोपले यसपाली बायर्न म्युनिखलाई भाग्यले साथ दिएको बताएका छन्।

घरेलु जर्मन बुन्डेसलिगाका साथै डिएफबी पोकाल (जर्मन कप)को उपाधि जितिसकेको ह्यान्सी फ्लिकको बायर्नले आइतबार लिस्बनमा पेरिस सेन्ट जर्मन (पिएसजी)लाई हराउँदै च्याम्पियन्स लिगको उपाधि उचालेको थियो।

क्लोपको लिभरपुल घरेलु प्रिमियर लिगमा उपाधि जिते पनि च्याम्पियन्स लिगमा भने उपाधि रक्षााको अभियानमा असफल भएको थियो। अन्तिम १६ मा स्पेनिस ला लिगाको प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग पराजित हुँदै क्लोपको लिभरपुलले यात्रामा पूर्णविराम लगाएको थियो।

कोरोना भाइरसको महामारीका कारण स्थगनमा रहेको च्याम्पियन्स लिग पुन सुरु हुनुभन्दा एक महिनाअघि जुलाईको सुरुआतमै जर्मनीमा घरेलु सिजन सकिइसकेको थियो।

जसका कारण बायर्नले च्याम्पियन्स लिग खेल्नुअघि एक महिनाको आराम पाएको थियो। पिएसजी र सेमिफाइनल पुगेको अर्को फ्रान्सेली टोली लियोनले पछिल्लो चार महिनादेखि फुटबल खेलेका थिएनन्।

कोरोना भाइरस महामारीका कारण मार्चमा स्थगित गरिएको फ्रान्सेली लिग वानको सिजन त्यसपछि पुन: सुचारु गरिएको थिएन। जवकि बार्सिलोना र म्यानचेस्टर सिटीजस्ता टोलीले भने व्यस्त घरेलु सिजन सकिनेवित्तिकै च्याम्पियन्स लिग खेल्नुपरेको थियो।

यही कारण बायर्नको उपाधि यात्रा तुलनात्मक रुपमा सहज बनेको क्लोपको भनाई थियो।

“बायर्नका लागि यसपाली खेलतालिकाको पनि राम्रो साथ रहयो। उनीहरुलाई भाग्यले थोरै साथ दियो,” क्लोपले भने, “पक्कै पनि बायर्न च्याम्पियन्स लिगको हकदार टिम हो। उनीहरुसँग हरेक पोजिसनमा विश्वका सर्वोत्कृष्ट खेलाडीहरु छन्। अर्को महत्वपूर्ण कुरा उनीहरुको टिममा रहेका सबै खेलाडीको उमेर पनि एकदमै सही छ, एकदमै अनुभवहिन युवा पनि होइन, उमेर ढल्किइसकेका पनि होइन।”

नेतृत्व सम्हालेको १० महिनामै बायर्नलाई तेहोरो उपाधि जिताएका प्रशिक्षक फ्लिकको क्लोपले प्रशंसा गरे।

“१० महिनामा उनले गौरवशाली इतिहास बनाएका छन्। बायर्नजस्तो टिमको सही नेतृत्व गर्न सक्नुमा उनलाई क्षमतासँगै भाग्यको पनि राम्रो साथ मिलेको छ,” क्लोपले भने।

गत वर्ष नोभेम्बरमा निको कोभाकलाई बर्खास्त गरेपछि फ्लिकले बायर्नको टोलीमा अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए। त्यसअघि उनी कोभाककै सहायकका रुपमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्