सेभिया सात वर्षमा चाैथो पटक युरोपा लिग च्याम्पियन

एजेन्सी। फाइनलमा इन्टर मिलानमाथि ३-२ गोलको रोमाञ्चक जित निकाल्दै स्पेनिस क्लब सेभियाले छैठौं पठक युरोपा लिगको उपाधि जितेको छ।

गए राति कोलोग्नमा भएको खेलको पाँचौं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टर मिलानलाई अग्रता दिलाएका थिए। सेभियाका रक्षक डिएगो कार्लोसले लुकाकुलाई नै १८ यार्ड बक्समा लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो।

तर, सेभियाका लागि १२औं मिनेटमा बराबरी गोल फर्काएका लुक डी जोङले ३३औं मिनेटमा पुन: गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाए। त्यसको तीन मिनेट बित्न नपाउँदै इन्टरका डिएगो गोडिनले बराबरी गोल फर्काए।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ २-२ गोलको बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको सुरुआतदेखि नै दुवै टोलीले गोलका लागि उत्तिकै प्रयास गरेका थिए।

तर, ७४औं मिनेटमा सेभियाका डिएगो कार्लोसले प्रहार गरेको बाइसइकल किक लुकाकुले क्लियर गर्न खोज्दा आत्मघाति गोलमा परिणत भएको थियो।

निर्धारित ९० मिनेटको खेल सकिन १५ मिनेट बाँकी रहँदा ३-२ ले पछि परेको इन्टरले बाँकी समयमा गोल फर्काउन नसक्दा ९ वर्षमा जित्न लागेको पहिलो उपाधिबाट पनि वञ्चित हुनुपर्‍यो।

अर्कातिर, पछिल्लो सात वर्षमा चौथो पटक युरोपा लिगको उपाधि उचालेको सेभियाका प्रशिक्षक लोप्तेगीले प्रशिक्षकको हकमा पहिलो उपाधि जिते।

प्रतिक्रिया दिनुहोस्