नाै वर्षमा पहिलो उपाधि नजिक इन्टर: प्रशिक्षक भन्छन्- युरोपा जित्नु आवश्यक छ

काठमाडौं। च्याम्पियन्स लिगमा यात्रा समूह चरणबाटै टुङ्गिएपछि युरोपा लिगमा भाग्य खोज्ने क्रममा फाइनल पुगेको इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले ‘आधा भरिएको ग्लास’ जस्तै अवस्था भएको बताएका छन्।

पछिल्लो नाै वर्षमा पहिलो उपाधि जित्ने उद्देश्यमा रहेको इन्टरले आज राति कोलोग्नमा पाँच पटकको च्याम्पियन सेभियाको सामना गर्नेछ। सेभियाका प्रशिक्षक जुलियन लोप्तेगीले प्रशिक्षकको रूपमा अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन्।

“हाम्रा लागि यो सिजन निक्कै सकारात्मक रह्यो। हामीले धेरै महत्त्वपूर्ण काम गरेर उल्लेख्य सुधार गरेका छौं,” इन्टरका प्रशिक्षक कोन्टेले भने, “च्याम्पियन्स लिगको समूह चरण पार गर्न नसके पनि हामी युरोपा लिगको फाइनल पुगेका छौं। च्याम्पियन्स लिगको भन्दा मेरो विचारमा हामीले यहाँ बढी गौरव गर्ने क्षण पाउन सक्छौं। हाम्रो जस्तो कम अनुभव भएका युवा खेलाडीको बाहुल्य रहेको टीमलाई यस्तो यात्राको आवश्यता थियो।”

च्याम्पियन्स लिगको आफ्नो समूहमा इन्टर तेस्रो भएको थियो। बार्सिलोना र बोरुसिया डर्टमण्ड शीर्ष दुई स्थान हासिल गर्दै नकआउट चरण पुगेका थिए। तर च्याम्पियन्स लिगबाट बाहिरिएपछि इन्टरले युरोपा लिगका सबै ५ खेलमा जित हासिल गरेको छ।

त्यसमा सेमिफाइनलमा शाख्तर डोनेस्कमाथि हासिल गरेको ५-० को एकतर्फी जित पनि सामेल छ। चोटका कारण सेभियाका विङ्गर लुकास ओकाम्पस र इन्टरका फरवार्ड एलेक्सिस सान्चेज दुवै आज मैदान उत्रिन नसक्ने सम्भावना छ।

तीन पटक युइएफए कपको उपाधि जितेको इन्टरले यसपाली दोस्रो स्थानमा रहेर इटालियन सिरी ‘ए’ को सिजन टुङ्ग्याएको थियो। २०११ यता इन्टरले घरेलु फुटबलमा हासिल गरेको यो सबभन्दा ठूलो उपलब्धी हो। २०११ मा टोलीले पछिल्लो पटक कोपा इटालियाको पनि उपाधि जितेको थियो।

कोन्टेले गत वर्ष इन्टरको नेतृत्व सम्हालेपछि इङलिस प्रिमियर लिगबाट यसपालीका शीर्ष गोलकर्ता रोमेलु लुकाकुसहित पाँच खेलाडी भित्र्याएका थिए। लुकाकुले यसपाली युरोपा लिगमा १० सहित कुल ३३ गोल गरेका छन्।

“यो एउटा कठिन खेल हुनेछ,” आज रातिको फाइनलबारे चेल्सीका पूर्व प्रशिक्षक कोन्टेले भने, “हामी एउटा यस्तो अनुभवी टिमसँग खेलिरहेका छौं, जसले वितेको दशकमा यो प्रतियोगितामा सबभन्दा बढी उपाधि जितेको छ।”

कोन्टेले सेभियालाई मैदानमा सम्माान दिए पनि नडराउने बताए। “हामी उनीहरूलाई सम्माान गर्छौ, यसको मतलब डराउने भन्ने होइन। हामी पछिल्ला खेलहरूमा जस्तै अत्यन्तै ऊर्जाका साथ सतप्रतिसत मेहनत गरेर आफ्नै स्वभाविक फुटबल खेल्नेछौं,” उनले थपे।

प्रतियोगिता इतिहासमा सेभिया सबभन्दा सफल टिम हो। टोलीले युइएफए कप र युरोपा लिग दुवै नाममा भएका प्रतियोगितामा पाँच/पाँच पटक उपाधि उचालिसकेको छ।

कोन्टेजस्तै लोप्तेगीको पनि यो टोलीसँग पहिलो सिजन हो। तर, उनले रायो भाल्कानो, पोर्टो, स्पेन र रियाल मड्रिड प्रशिक्षकका रूपमा यसअघि काम गरे पनि उपाधि भने एउटै जित्न सकेका छैनन्।

स्पेनिस ला लिगाको टोली अहिले कीर्तिमानी २० खेलको अपराजित यात्रामा छ। टोलीले फेब्रुअरी ९ यताका पछिल्ला २० खेलमा ११ जित हासिल गरेको छ भने ९ बराबरी नतिजा निकालेको छ।

युरोपा लिगका पछिल्ला दुई चरणमा सेभियाले प्रिमियर लिगका टोलीहरू उल्भस र म्यानचेस्टर युनाइटेडलाई निराश पारेको थियो।

टोलीको इतिहास संबृद्ध भए पनि आज रातिको खेलमा त्यसको कुनै सम्बन्ध नरहने लोप्तेगी स्विकार्छन्।

“यो पूर्ण रुपमा नयाँ र फरक टिम हो, फरक खेलाडी र फरक प्रशिक्षकको,” लोप्तेगीले भने, “क्लब पहिला पनि यो ठाउँमा आइपुगेको थियो भन्ने भावनाले केही सहयोग पुग्ला। तर मेरो विचारमा त्यो निर्णायक भने बन्दैन। हामी एउटा बलियो र अनुभवी टिमसँग खेल्दैछौं।”

प्रतिक्रिया दिनुहोस्