एनओसीको भान्छामा काम गर्ने दुई जना कोरोना भाइरस संक्रमित

काठमाडौं। नेपाल ओलम्पिक कमिटी(एनओसी)का दुई जना कर्मचारी कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको छ।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले भान्छामा काम गर्ने दुई जना कर्मचारी कोभिड-१९ संक्रमित भएको बताए।

“स्वासका प्रशिक्षक हिराबहादुर थापालाई केही समय अगाडी कोरोना भाइरस संक्रमण देखिएको थियो। उनीहरूसँग निरन्तर सम्पर्क हुने भएकाले एनओसीका पनि सबै कर्मचारीको परिक्षण गरेका थियौं,” एनओसी महासचिव श्रेष्ठले भने, “त्यसमध्ये दुईको नतिजा पोजिटिभ आएको छ भने दुईको नतिजा आउन बाँकी छ। बाँकी चार जनाको नतिजा भने नेगेटिभ देखिएको छ।”

एनओसीमा काम गर्ने आठ कर्मचारीमध्ये सुरक्षा गार्ड र उनको दम्पतीको नतिजा आउन बाँकी छ। भान्छाका कर्मचारीसँग निरन्तर सम्पर्कमा हुने भएकाले एनओसी पदाधिकारीको पनि कोभिड-१९ परिक्षण गर्न लागिएको महासचिव श्रेष्ठले बताए।

“अब हामीलाई पनि डर भयो। अफिसमा उनीहरूले बनाएको खाजा खाना हामीले खाने हो। त्यसकारण अब सबै पदाधिकारीको कोभिड-१९ परिक्षण गर्न लागेका छौं,” महासचिव श्रेष्ठले भने।

कोरोना संक्रमण देखिएका दुवै जनामा कुनै लक्षण नदेखिएको एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द वैद्यले जानकारी दिए।

"संक्रमितलाई कुनै पनि लक्षण देखिएको थिएन। बुधबार राष्ट्रिय खेलकुद परिषदमा सबैको परीक्षण गर्दा उनीहरूको पनि गराएका थियाैं," कार्यकारी निर्देशक वैद्य भने, "दुई जनाको नतिजा पोजिटिभ देखियो। उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दैछाैं।"

एनओसी कार्यालय साउन २६ देखि भदाै ५ गतेसम्मका लागि बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्