नेपोलीविरुद्ध बार्सिलोनालाई युवाको भर

काठमाडौं। बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनले युवा खेलाडी अंशु फाती र रिकु पुजको प्रदर्शनमा शनिबार राति नेपोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।

शनिबार राति हुने च्याम्पियन्स लिग अन्तिम-१६ को दोस्रो लेगमा बार्सिलोनामा अनुभवी मिडफिल्डर सर्जियो बुस्केट, अर्टुरो भिडाल र आर्थर उपलब्ध हुने छैनन्। पाँच महिना अघि सम्पन्न पहिलो लेगमा बार्सिलोनाले नेपोलीसँग १-१ को बराबरी खेलेको थियो।

‘‘फाती र पुज दुबै खेल्नका लागि तयार छन्,’’ बार्सिलोनाका प्रशिक्षक सेटिनले भने, ‘‘उनीहरूले पछिल्लो समय धेरै राम्रो प्रदर्शन गरेका छन् र नेपोलीविरुद्ध पनि राम्रो सुरूआत गर्न सक्छन्। उनीहरूले राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु।’’

बुस्केट र भिडाल निलम्बनमा रहेकाले २० वर्षे पुजले युरोपको सबभन्दा प्रतिष्ठित क्लब प्रतियोगितामा डेब्यु गर्ने सम्भावना प्रबल छ। आर्थर भने अर्को सिजनका लागि युभेन्टससँग अनुबन्धित भइसकेका छन्। त्यसका कारण उनी टीमको अभ्यासमा सामेल भएका छैनन्।

बलमाथिको नियन्त्रण तथा सटिक पासका कारण पुजलाई बार्सिलोनालमा जाभी हर्नान्डेज र आन्द्रेस इनिएष्टासँग तुलना गर्न थालिएको छ।

१७ वर्षे फातीले जारी सिजन स्पेनिस लिग र च्याम्पियन्स लिग दुबैमा गोल गरेर आफुलाई प्रमाणित गरिसकेका छन्। कप्तान लियोनल मेसी र लुइस स्वारेजसँगै फाती पहिलो रोजाईमा पर्न सक्छन्।

तथापी फातीलाई एन्टोइन ग्रिजमनले प्रतिस्थापन गर्ने सम्भावना पनि हुन्छ। दायाँ तिघ्रामा चोट लागेका ग्रिजमन पुर्णरुपमा फिट रहेको डाक्टरले बताइसकेका छन्। डाक्टरले क्लेमेन्ट लेङलेट पनि फिट भएका बताएका छन्। तर सामुएल उम्टिटी भने उपलब्ध हुनेमा शंका छ।

खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ। रंगशालामा दर्शकको उपस्थिति हुनेछैन। स्पेनमा पछिल्लो समय पुन: कोभिड–१९ संक्रमित बढ्न थालेका कारण नेपोलीले स्वास्थ्य सुरक्षाबारे चिन्ता व्यक्त गरेको थियो। तर युईएफएका स्वास्थ्य अधिकारीले खेल सुरक्षित रुपमा हुने पक्का गरेका छन्।

स्पेनिस ला लिगाको उपाधि रियाल मड्रिडले जितेपछि बार्सिलोनाका प्रशिक्षक सेटिन दबाबमा छन्। यसअघि कप्तान मेसीले टीममा परिवर्तन नगर्ने हो भने नेपोलीसँग पराजित हुने अभिव्यक्ति दिएका थिए।

‘‘मलाई थाहा छ भोलीको खेल मेरो अन्तिम हुन पनि सक्छ,’’ प्रशिक्षक सेटिनले भने, ‘‘तर हामी यो खेल जितेर पोर्चुगलमा हुने प्रतियोगिताका बाँकी खेलमा केन्द्रित हुन चाहन्छौं।’’

नेपोलीका प्रशिक्षक गेनारो गटुसोले फरवार्ड लोरेन्जो इनसाइन उपलब्ध हुनेमा शंका व्यक्त गरेका छन्। इनसाइनबारे प्रशिक्षक गटुसोले थपे,‘‘उनले टीमसँग अभ्यास थालेका छन्। पुर्ण फिट भएमा उनले बार्सिलोनाविरुद्ध खेल्नेछन्।

यो खेल हाम्रो लागि सगरमाथा चढेजस्तै हो। बार्सिलोनाा राम्रा युवा खेलाडी छन्। जसले पछिल्ले समय राम्रो प्रदर्शन गरिरहेका छन्। राम्रो नतिजा निकाल्ने हो भने हामीले आफ्नो प्रदर्शनमा व्यापक सुधार गर्नु आवश्यक छ।’’

प्रतिक्रिया दिनुहोस्