‘रोनाल्डो पिएसजी सरुवा हुनै लागिसकेका थिए’

काठमाडौं। युभेन्ट्समा असन्तुष्ट भएर पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवाको नजिक पुगिसकेका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको फ्रेन्च लिगमा जाने बाटोमा कोरोना भाइरसको महामारीले अबरोध सिर्जना गरेको मिररले जनाएको छ।

स्पेनिस महारथी रियाल मड्रिडबाट इटालियन सिरी ‘ए’ को महारथी युभेन्टस सरुवा भएर रोनाल्डोले दुई वर्ष विताइसकेका छन्। घरेलु लिगमा पछिल्लो दशकभरी नै हावी रहँदै आएको युभेन्टसले च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ रोनाल्डोलाई भित्रयाएको थियो।

तर, टीममा प्रभाव जमाउन सफल भए पनि टोलीलाई च्याम्पियन्स लिग जिताउन नसकेको भन्दै युभेन्टस समर्थकबीच रोनाल्डोको आलोचना हुने गरेको थियो।

समर्थकको आलोचनाबाट चिढिएका रोनाल्डोमा लामो समयदेखि पिएसजीका स्टारद्धय किलियन एमबाप्पे र नेयमारसँग खेल्ने इच्छा पनि रहेको फ्रान्स फुटबलले जनाएको छ।

त्यही कारण रोनाल्डो फ्रान्सेली लिग वानको च्याम्पियन टोली सरुवाको नजिक पुगिसकेका थिए। तर अचानक आइलागेको कोरोना भाइरस महामारीका कारण क्लबहरुको आर्थिक अवस्था ठूला स्टार भित्रयाउन सक्ने अवस्थाको नरहेपछि उनको सरुवा रोकिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्