आइपिएलबाट भिभोलाई हटाउने तयारी!

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) को मुख्य प्रायोजकमा चीनिया मोबाइल कम्पनी भिभोलाई हटाउने तयारी भइरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

आइतबार आइपिएलको गभर्निङ काउन्सिलले भिभोलाई मुख्य प्रायोजकका रुपमा निरन्तरता दिने निर्णय गरेको थियो। सिमानामा चीन र भारतको सम्बन्ध अत्यन्तै चिसो भइरहेको बेला आइपिएलमा चीनिया कम्पनीसँगको सहकार्यलाई निरन्तरता दिइएको भन्दै गभर्निङ काउन्सिल र भारतीय क्रिकेट बोर्ड (बिसिसिआईं)को व्यापक आलोचना भएको थियो।

“यो वर्ष आइपिएलको मुख्य प्रायोजक भिभो नहुने दाबी गरिएको छ। चाँढै नयाँ मुख्य प्रायोजकको घोषणा हुनेछ,” हिन्दुस्तान टाइम्सले लेखेको छ, “यसको आधिकारिक पुष्टी भने भइसकेको छैन। तर, यो वर्ष आइपिएलको मुख्य प्रायोजक भिभो नहुने मानिएको छ।”

दुई देशबीचको सम्बन्ध बिग्रिएका कारण भारतमा थुप्रै चिनिया एपहरु बन्द गरिएका छन्। आइपिएलको १३औं संस्करण यसपाली संयुक्त अरब इमिरेट्स (युएई)मा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तय भएको छ।

मार्च २९ बाट सुरु हुने तय भए पनि कोरोना भाइरसको महामारीका कारण विश्व क्रिकेटको सबभन्दा महंगो फ्रेन्चाइज प्रतियोगिता स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्