एथ्लेटिक्सका सहायक प्रशिक्षक राईको निधन

काठमाडाैं। सल्यान जिल्ला खेलकुद विकास समितिअन्तर्गत एथलेटिक्सका सहायक प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ। ब्रेन ट्युमरबाट पीडित ५२ वर्षीय राईको सोमबार राति भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरमा निधन भएको हो।

प्रशिक्षक राईको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए। उनी गत वर्ष चैतमा उपचारका लागि सल्यानबाट काठमाडौँ आएका थिए। राई २०५२ सालमा एथलेटिक्सको सहायक प्रशिक्षकका रुपमा सल्यानमा नियुक्त भएका थिए।

उनको गत वैशाख अन्तिम साता काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको सचिव विष्टले बताए।

“सङ्घकै पहलमा राईको उपचारका लागि हामीले रु १० लाखभन्दा बढी सहयोग जुटाएका थियौँ”, उनले भने "प्रशिक्षक राईलाई गत जेठको पहिलो सातादेखि काठमाडौंँ क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो।"

सल्यानमा निरन्तर प्रशिक्षणमा संलग्न राईले राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेकाे सङ्घका सचिव विष्टले बताए। राईका एक छोरा, एक छोरी र श्रीमती छन्।

रासस

प्रतिक्रिया दिनुहोस्