प्रशिक्षक खड्गीलाई चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लबकाे सम्मान

काठमाडाैं। प्रिमियर लिग क्लब चेल्सी फुटबल क्लबको नेपाली अधिकारिक समर्थक समूह चेल्सी नेपाल-अफिसियल सपोर्टर्स क्लबले प्रशिक्षक सल्यान खड्गीलाई मंगलबार सम्मान गरेको छ।

एन्फा कम्प्लेस सातदोबाटोमा चेल्सी नेपालले एक कार्यक्रमको आयोजना गरी खड्गीलाई चेल्सी फुटबल क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकको हस्ताक्षर गरेर पठाएको जर्सी हस्तान्तरण गरेको हो। उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले जर्सी हस्तान्तरण गरे थिए।

सम्मानित भएपछि प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरुलाई थप ऊर्जा प्राप्त हुने बताए। उनले भने, "हामी जस्तो पिछडिएको मुलुकका प्रशिक्षकहरुलाई यस प्रकारको सम्मान पाउँदा थप काम गर्न ऊर्जा मिलेको छ।"

एन्फाका अध्यक्ष शेर्पाले विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए।

"नेपाली फुटबललाई पनि मैदानमै आएर समर्थन गर्नु हुन म आह्वान गर्छु," अध्यक्ष शेर्पाले भने, "समर्थक समूहसँग सहकार्य गरेर फ्यान संस्कारको विकासमा अगाडि बढ्नेछाै‌ँ।"

प्रशिक्षक खड्गीले गत सातामात्र एएफसी 'ए' लाइसन्स कोचिङ कोर्ष पूरा गरेका थिए। खड्गीको प्रशिक्षणमा संकटा क्लब २०७५ सालकाे सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो भएको थियो।

प्रतिक्रिया दिनुहोस्