च्याम्पियन्स लिग: लिभरपुल विजयी, चेल्सी र डर्टमण्डको पुनरागमन

काठमाडौं। युरोपियन च्याम्पियन्स लिगअन्तर्गत गएराती भएको खेलमा साविक विजेता लिभरपुलले जित हात पारेको छ।

यस्तै चेल्सीले पुनरागमन गर्दै अयाक्सँग ४-४ को बराबरी खेलेको छ।

बोरुसिया डर्टमण्डले पुनरागमन जित हात पार्दा स्पानिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ।

समूह इ मा लिभरपुलले जेन्काई २-१ ले हरायो भने नापोली र साल्जबर्गले १-१ को बराबरी खेले। लिभरपुलका लागि जर्जिनिओ विजनाल्डम र एलेक्स च्याम्बरलाइनले गोल गरे।

तेस्रो जितपछि ४ खेलबाट ९ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ। ८ अंक जोडेको नापोली दोस्रोमा छ।

यस्तै समूह एफमा दोस्रो बराबरी खेल्ने क्रममा बार्सिलोना स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकियो।

बराबरीपछि ४ खेलबाट ८ अंकसहित बार्सिलोना समूह एफको शीर्ष स्थानमै छ। यसै समूहमा बोरुसिया डर्टमण्डले इन्टर मिलान विरुद्ध ३-२ को पुनरागमन जित हात पारेको छ।

लाउटारो मार्टिनेज र लाटियस भेसिओले गोल गर्दै पहिलो हाफमै इन्टरलाई दुई गोलको अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफमा अच्रफ हाकिमीको दुई र युलियन ब्रान्डको एक गोल गरेपछि डर्टमण्डले खेल जितेको हो।

जितपछि ४ खेलबाट ७ अंकसहित डर्टमण्ड दोस्रो स्थानमा छ।

समूह जी मा जर्मन क्लब लेइपजिगले जेनिथ सेन्ट पिटर्सवर्गलाई २-० ले पराजित गर्दै तेस्रो जित हात पारेको छ। ४ खेलबाट ९ अंकसहित लेइपजिग समूहको शीर्ष स्थानमा छ। अर्को खेलमा लियोनलाई ३-१ ले पराजित गरेको वेनफिका ७ अंकसहित दोस्रोमा छ।

यसैगरी समूह एचमा लण्डन क्लब चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै डच क्लब अयाक्ससँग ४-४ को बराबरी खेलेको छ।

दुई आत्मघाती गोल उपहार दिएपछि ४-१ ले पछि परेको चेल्सीले पुनरागमन गर्द ३ गोल फर्काएको हो।

यस्तै भ्यालेन्सियाले लिलेलाई ४-१ ले हरायो। समूहको चौथो चरणको खेलपछि अयाक्स, चेल्सी र भ्यालेन्सियाको समान ७ अंक भएको छ। गोलअन्तरमा अयाक्स अगाडि छ।

चेल्सीको लागि जर्गिन्होले दुई तथा सेजार अजप्लिकुएटा र स जेम्सले एक-एक गोल गरे। अयाक्सका लागि क्वीन्स प्रोन्स र डोनी भान डे बिकले एक-एक गोल गरे। चेल्सीका टोमी अब्राहम र केपाले आत्मघाती गोल गरेका थिए।

६३ मिनेटसम्म अयाक्स ४-१ ले अघि थियो। तर, ६८औं मिनेटमा डाले ब्लाइण्ड र ६९औं मिनेटमा भेल्टम्यान रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएपछि अयाक्स ९ खेलाडीमा झर्‍यो।

त्यसैको फाइदा उठाउँदै चेल्सीले अन्तिम १९ मिनेटमा ३ गोल गर्दै खेल बराबरी गरेको हो।

प्रतिक्रिया दिनुहोस्