रामोसको गोलमा रियालको जित, शीर्ष स्थानमा सात अंकको अग्रता

काठमाडौं। कप्तान सर्जियो रामोसले लगातार दोस्रो खेलमा गोल गरेको दिन रियाल मड्रिडले आज एथलेटिक विल्बाओलाई १-० ले पराजित गरेको छ।

जितसँगै रियालले स्पेनिस ला लिगाको शीर्ष स्थानमा सात अंकको स्पष्ट अग्रता लिएको छ।

रामोसले खेल सकिन १७ मिनेट बाँकी रहँदा पेनाल्टीमा गरेको गोल रियालको जितमा निर्णायक बनेको थियो।

एथलेटिक विल्बाओका ड्यानी गार्सियाले मार्सेलोलाई फाउल गरेपछि भिडियो सहायक रेफ्री (भिएआर)ले रियाललाई पेनाल्टी अवसर दिएको थियो।

पेनाल्टी अवसरलाई रामोसले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए। रामोसले सिजन पुनः सुरू भएपछिको सातमध्ये पाँच खेलमा गोल गरेका छन्। रियालले सातै खेल जितेको छ।

रियाल मड्रिडको जितमा गोलकिपर थिबाउट कोर्टियसले उत्कृष्ट बचाउ गरेका थिए। १९९४/९५ मा फ्रान्सिस्को बुयोपछि ला लिगाको एकै सिजन १७ क्लिनसिट गर्ने कोर्टियस पहिलो रियाल मड्रिडका गोलकिपर बने।

जितसँगै रियालले ३४ खेलबाट ७७ अंक जोडेको छ। जुन दोस्रो स्थानको बार्सिलोनाभन्दा सात अंकले माथि हो। बार्सिलोनाले एक खेल कम खेलेको छ। साविक विजेता बार्सिलोनाले आज राति भिल्लारियालको भ्रमण गर्नेछ।

जिनेदिन जिदानको रियालले अब ला लिगको बाँकी चार खेलमध्ये तीन खेल जिते ला लिगाको उपाधि पक्का गर्नेछ। रियालले २०१२ पछि ला लिगाको उपाधि जितेको छैन।

प्रतिक्रिया दिनुहोस्