प्रिमियर लिग: लिभरपुल र म्यानचेष्टर सिटीको पुनरागमन जित, युनाइटेड बर्नमाउथसँग पराजित
काठमाडौं। शीर्ष स्थानको लिभरपुल र म्यानचेष्टर सिटीले प्रिमियर लिगमा पुनरागमन जित हात पार्दा म्यानचेष्टर युनाइटेड भने एएफसी बर्नमाउथसँग पराजित भएको छ।
लिभरपुल र सिटी दुवैले एक गोलले पछि परेको अवस्था उल्टाउँदै खेल जितेको हो।
साडियो मानेले इन्जुरी टाइममा गोल गरेपछि लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो।
ट्रेजग्वेटले २१औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए।
८६औं मिनेटसम्म लिभरपुल एक गोलले पछि थियो। ८७औं मिनेटमा एन्डी रोवर्टसनले गोल गर्दै खेल बराबरी गरेका थिए। इन्जुरी टाइममा मानेले गोल गर्दै लिभरपुललाई ३ अंक दिलाए।
पुनरागमन जितपछि लिभरपुलले यस सिजनको अपराजित यात्रा कायम राखेको छ। ११ खेलबाट ३१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ।
यस्तै म्यानचेष्टर सिटीले अन्तिम २० मिनेटभित्र दुई गोल फर्काउँदै साउथह्याम्पटनलाई २-१ ले पराजित गरेको हो।
१३औं मिनेटमा जेम्स वार्ड प्रोवसले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए।
७०औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै खेल बराबरी गरे। ८६औं मिनेटमा केल वाल्करले गोल गरेपछि सिटीले २-१ को जित हात पारेको हो।
जितपछि ११ खेलबाट २८ अंक जोडेको सिटी लिभरपुललाई पछ्याउदै दोस्रो स्थानमा यथावत छ।
उता अर्को म्यानचेष्टर क्लब भने बर्नमाउथसँग १-० ले पराजित भएको छ। बर्नमाउथलाई घरेलु मैदानमा जित दिलाउन जोसुअ किङले ४५औं मिनेटमा गोल गरे।
चेल्सीका लागि टोमी अब्रहामले पाँचौ र क्रिस्टियन पुलिसिकले ५५औं मिनेटमा गोल गरे।
वाटफोर्डका लागि जेरार्ड डेउलोफेढले एक गोल फर्काए। जितपछि ११ खेलबाट २३ अंकसहित चेल्सी तेस्रो स्थानमा छ।
आर्सनल भने वुल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको छ।
प्रतिक्रिया दिनुहोस्