ला लिगा: अग्रता जोगाउन नसक्दा बार्सिलोना लेभान्टेसँग पराजित, रियल बराबरीमा रोकियो

काठमाडौं। लिग लिडर बार्सिलोना स्पानिस ला लिगामा लेभानेटसँग ३-१ ले पराजित भएको छ।

कप्तान लिओनल मेसीको गोलमा पहिले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो। यस्तै दोस्रो स्थानमा रियल मड्रिड बराबरीमा रोकिएको छ।

खेलको ३८औं मिनेटमा मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा बार्सिलोनाले उक्त अग्रता कायमै राखेको थियो। तर, दोस्रो हाफमा घरेलु मैदानमा लेभान्टेले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल फर्कायो। जोस कामपानाले ६१औं मिनेटमा लेभान्टेका लागि बराबरी गोल गरे।

त्यसको दुई मिनेटपछि नै बोया मोयारलले गोल गर्दै लेभान्टेलाई २-१को अग्रता दिलाए। ६८औं मिनेटमा नेमान्जा राडोजाले गोल गर्दै लेभान्टेको जित पक्‍का गरे।

हारपछि पनि ११ खेलबाट २२ अंक रहेको बार्सिलोना शीर्ष स्थानमै छ। समान अंक भएपनि बार्सिलोनाले रियललाई गोलअन्तरमा पछि पारेको हो।

बार्सिलोना पराजित हुँदा रियललाई शीर्ष स्थानमा पुग्ने मौका थियो।

तर, रियल मड्रिड रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो।

यस्तै एट्लेटिको मड्रिड र सेभियाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्