नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका वाइबी घलेलाई आर्थिक सहयोग

काठमाडौं। नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी यमबहादुर (वाइबी) घलेलाई आर्थिक सहयोग गरिएको छ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले आज घलेलाई दुई लाख आर्थिक सहयोग गरेको हो।

पछिल्लो ११ वर्ष प्यारालाइसिसका कारण अस्वस्थ रहेका घलेलाई आज काठमाडौंमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखा अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।

सन् १९८२ मा दिल्लीमा भएको एशियाली खेलकुदमा घलेले जवाहरलाल नेहरू रंगशालमा कुवेतविरुद्ध गोल गरेका थिए, जुन नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय गोल हो।

त्यसयता नेपालले अझै कुवेतविरुद्ध अर्को गोल गर्न सकेको छैन।

यस्तै सन् १९८५ मा नेपालमा भएको पहिलो दक्षिण एशियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा घले मुख्य खेलाडी थिए।

सन् १९८२ देखि १९९० सम्म राष्ट्रिय टीममा रहेका घले एन्फाका केन्द्रीय सदस्य र एन्फा टेक्निकल डिरेक्टर रहिसकेका छन् । ६१ वर्षीय घलेले आरसीटी, फ्रेन्ड्स क्लब, शाही वायुसेवा निगम, महेन्द्र पुलिस क्लबबाट फुटबल खेलेका थिए।

चार महिना अघि गल ब्लाडर र स्टोनको शल्यक्रियापछि थप अस्वस्थ बनेका घलेको उपचारार्थ आर्थिक सहयोग गरिएको हो।

घलेलाई नगद हस्तान्तरण गरेपछि सिद्धार्थ विक्रम क्षेत्रीले दु:ख र खुशी दुवै लागेको बताए। “यस्तो दिन नआओस् भन्ने चाहना हो, त्यो सम्झँदा दु:ख लाग्छ तर, सहयोग गर्न पाउदा खुशी लागेको छ,” क्षेत्रीले भने।

क्षेत्रीले नेपाल सरकार र सम्बन्धित संघले नै खेलाडीको लागि सहयोग गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्