उपनिर्वाचनका लागि ताते दलहरू
काठमाडौं। आउँदो १४ मंसीरमा हुने प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचनका लागि दलहरू उम्मेद्वार चयनमा व्यस्त हुन थालेका छन्।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)देखि साझा पार्टीसम्म उम्मेद्वार चयनमा जुटेका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि आन्तरिक गृहकार्यमै सीमित किन नहोस्, चुनावी चपेटामा परिसकेको छ।

प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुने एकमात्र क्षेत्र कास्की क्षेत्र नम्बर २ मा नेकपाले विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

कास्की–२ बाट निर्वाचित अधिकारीको १५ फागुन २०७५ मा ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि त्यो क्षेत्र रिक्त थियो। नेकपा कास्की जिल्ला कमिटीले भट्टराईको नाम सिफारिस गरे पनि प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङको नाम पनि थपेर केन्द्रमा पठाएको थियो ।

तर, आज बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले जिल्ला कमिटीकै सिफारिसलाई सदर गर्दै भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

कास्की–२ लाई नेकपाको प्रतिष्ठासँग जोडेर पनि हेरिएको छ। रवीन्द्रले ‘ह्याट्रिक’ गरेको क्षेत्रमा जसरी पनि जित्नैपर्ने दबाबमा नेकपा छ भने कांग्रेस ‘सरकारविरोधी माहोल’लाई ‘क्यास’ गर्दै प्रतिनिधिसभामा एउटा सिट बढाउने दाउमा छ।

कांग्रेसले २०७४ सालको आम निर्वाचनमा रवीन्द्रसँग पराजित देवराज चालिसेलाई नै उम्मेद्वार बनाउने चर्चा छ। तर, आन्तरिक तयारीमा रहेकाले अहिलेसम्म उम्मेद्वारको टुंगो लगाउन सकेको छैन।

आजै बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कास्की–२ मा  पार्टीका केन्द्रीय सदस्य रोम बहादुर भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघि साझा पार्टीले रजनी केसीलाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ। केसी वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर साझा पार्टी प्रवेश गरेकी थिइन्।

कास्की–२ मा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

१४ मंसीरमा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र, तीन प्रदेशसभा निर्वाचन क्षेत्रसहित विभिन्न ५२ पदका लागि उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक, गाउँपालिका तथा नगर वडाध्यक्ष ४३ का लागि उपनिर्वाचन हुनेछ।

उपनिर्वाचनको मिति घोषणा भएको दिन १६ साउनसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

उपनिर्वाचन हुने प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नम्बर १ ‘क’, दाङ क्षेत्र नम्बर ३ ‘ख’ र बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ रहेका छन्।

नेकपाले दाङमा विमला वली र भक्तपुरमा देवीप्रसाद ढकाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बाग्लुङमा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेद्वारलाई सघाउनेछ। धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेद्वार बनाउने नेकपाको निर्णय छ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरूको नाम भने क्षेत्रीय निर्वाचन कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने नेकपा प्रवक्ता श्रेष्ठले बताए।

राप्रपाले दाङमा भूपाल रावत र बागलुङमा गणेश कुँवरलाई उम्मेद्वार चयन गरेको छ।  भक्तपुरका लागि भने छिट्टै उम्मेदवार चयन गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन्।

राप्रपाले स्थानीय तह अन्तर्गत उपमहानगरको उम्मेद्वार छनोट गर्ने जिम्मा सम्बन्धित प्रदेश कार्य समिति र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्षका लागि जिल्ला कार्य समितिलाई अधिकार दिएको छ।

साझा पार्टीले पनि प्रदेश सभाका लागि उम्मेद्वार चयन गरिसकेको छ। प्रवक्ता डा. सूर्यराज आचार्यका अुनसार साझा पार्टीले भक्तपुरमा सुरज प्रधान र दाङमा शिवकुमार चौधरीलाई उम्मेद्वार चयन गरेको छ।

निर्वाचन आयोगले २१ कात्तिकमा उम्मेद्वार मनोनयन दर्ताको समय तोकेको छ। आयोगले आजै कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने २० कात्तिकमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय खोलिने आयोगका प्रवक्ता श्रेष्ठले देखापढीलाई जानकारी दिए।

उनका अनुसार उपनिर्वाचनका लागि देशभर ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २१ कात्तिमा उम्मेदवारी दर्ता हुनेछ। स्थानीय तहका सदस्यको रिक्त पदका लागि भने २७ कात्तिकमा मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम तय भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन प्रचारप्रसारको अवधि १६ दिनको हुनेछ भने स्थानीय तहका उम्मेदवारले प्रचारप्रसारका लागि १० दिन समय पाउनेछन ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २२ कात्तिकमा उम्मेद्वारको विरोधमा उजुरी दिने, २३ कात्तिकमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ र मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

कार्यतालिका अनुसार २४ कात्तिकमा उम्मेद्वारले नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ कात्तिकमा निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

१४ मंसीर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्