नेकपाको स्थायी कमिटी बैठक पर्सीसम्मका लागि स्थगित

काठमाडौं। असार १० गतेदेखि जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक असार २२ गतेसम्मका लागि स्थगित गरिएको छ।

स्थायी कमिटीका एक सदस्यले असार २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी आएको बताए।

दुई अध्यक्षबीच आज भएकाे टेलिफाेन वार्तामा पछिल्लाे समय पार्टीभित्र देखिएकाे विवाद समाधानका लागि छलफल गर्ने सहमतिपछि बैठक स्थगित गरिएकाे उनले बताए।

यसअघि आज बिहान ११ बजेका लागि बैठक तय भएको थियो। १८ असारमा बसेको स्थायी कमिटी बैठक हिजो दिनभरि सहमतिका लागि भन्दै आजका लागि बैठक सारेको थियो।

पार्टी विवाद टु‌ग्याउन दुई अध्यक्षबीच हिजो दिनभर छलफल भए पनि सहमति जुट्न सकेकाे थिएन।

अहिले खुमलटारमा दाहाल-नेपाल समूहका नेता कार्यकर्ताबीच छलफल चलिरहेको छ। खुमलटार स्रोतका अनुसार त्यहाँको छलफल सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्