उम्मेदवार टुंगो लगाउन कांग्रेसकाे पदाधिकारी बैठक भाेलि बस्दै
काठमाडाैं। नेपाली कांग्रेसले आगामी १४ मंसीरमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाउन भाेलि, १४ कात्तिक बिहान पदाधिकारी बैठक बोलाएको छ।

जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुंगो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उनले बताए।

बैठकमा समसामयिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ।

पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले यही १५ कात्तिक दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए।

यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै ७ कात्तिकमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगन गरिएको थियो।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि १४ मंसीर उपनिर्वाचन हुँदैछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्