सत्ता–प्रतिपक्ष सम्बन्ध सुधार्न बालुवाटारमा छलफल, टीआरसी विधेयक छिटो ल्याउने सहमति
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्ष र प्रतिपक्षबीच सम्बन्ध सुधारका लागि छलफल शुरु गरेका छन्।

यही क्रममा आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेकपा र कांग्रेसका अन्य नेताहरु समेत सहभागी थिए।

बैठकमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच नियमित भेटघाट र छलफल नभइरहेको अबस्थामा छलफल शुरू गरिएको देखापढीलाई बताए।

“केही समययता भेटघाट र छलफल हुनसकेको थिएन, त्यसकै लागि यो बैठक राखिएको हो”, उनले भने, “अब नियमित रूपमा भेट्ने कुरा भएको छ, सम्भवतः हामी पर्सि फेरि भेट्नेछौं।”

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलम सामूहिक हत्याको आरोपमा पक्राउ परेपछि सत्ता–प्रतिपक्षबीचको सम्बन्ध चिसिन पुगेको थियो।

कांग्रेस सभापति देउवाले आलम पक्राउ प्रकरणलाई सरकारले कांग्रेसमाथि गरेको षडयन्त्र भएको सार्वजनिक टिप्पणी गरेका थिए।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता छानविन आयोग सम्बन्धी कानून यथाशक्य बनाउनेबारेमा सहमति जुटेको नेम्वाङले बताए।

“कानून नबन्दासम्म यसबारे कुरा उठिरहन्छ, चाँडो कानून बनाउनका लागि यससम्बन्धी विधेयक बनाएर छलफल गरौं भन्नेमा शीर्ष नेताहरू एकमत हुनुभएको छ”, उनले भने, “यसबाहेक संवैधानिक परिषद्को बैठक बस्न लागेकाले परिषदका अजेण्डाबारे पनि प्रतिपक्षसँग सरसल्लाह भएको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्