गगन थापा भन्छन्– ‘आलमको पार्टी सदस्यताबारे केन्द्रीय कार्यसमितिले निर्णय गर्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वमन्त्री मोहम्मद अफताब आलमबारे ७ कात्तिकमा बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताएका छन्।

उनले बैठकमा सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिबारे समेत छलफल हुने बताए ।

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका तर्फबाट रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आलम रौतहटमा १२ बर्षअघि भएको जघन्य सामूहिक हत्याको आरोपमा पक्राउ परेका थिए ।

आलम पक्राउको घटनालाई कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसविरुद्धको षडयन्त्र भन्दै १ कात्तिकमा सरकारको विरोध गरेका थिए। आलमको बचाउमा देउवाले सार्वजनिक रुपमै बोलेपछि कांग्रेस भित्र समेत उनको आलोचना भएको थियो । आफ्नै पार्टीका नेताकार्यकर्ताबाट आलोचना खेप्नु परेपछि देउवाले २ कात्तिकमा विज्ञप्ति जारी गरेर आलम प्रकरणको अनुसन्धानमा सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विभत्स तवरले गरिएको सामूहिक हत्याकाण्डमा संलग्नताको आरोप लागेका आलमलाई कांग्रेसले कारबाहीको साटो उल्टै बचाऊ गरेको भन्दै सार्वजनिक आलोचना चुलिएको छ ।

कांग्रेस नेता थापाले ७ कात्तिकको बैठकमा आलमको पार्टी सदस्यता के गर्ने भन्नेबारे समेत छलफल हुने बताए । “हामी सभापतिले जारी गरेको विज्ञप्तिलाई उहाँको आधिकारिक धारणा मान्छौं”, थापाले देखापढीसँग भने, “यद्यपि, सभापतिले सार्वजनिक रुपमा बोल्नु भएको कुरामा पनि हामी छलफल गछौँ।”

१४ मंसिरमा हुने उपनिर्वाचनलाई कांगे्रसले नेकपा नेतृत्वको सरकारविरुद्धको ‘मिनि जनमतसंग्रह’का रुपमा चर्चा गरिरहेका बेला सभापति देउवाको अभिव्यक्तिले पार्टीलाई नै अप्ठेरोमा पारेको बुझाई कांग्रेसभित्र देखिन्छ ।

२०६४ सालको संविधानसभा निर्वाचनका बेला रौतहटमा इँटाभट्टामा कार्यरत मजदुरलाई जलाएर मारेको आरोपमा आलम २६ असोजमा पक्राउ परेका हुन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्