करीब ३१ हेक्टर वनक्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाका लागि भोजपुरको षडानन्द नगरपालिका-१ स्थित राष्ट्रिय वन क्षेत्रको १.३७ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो।

त्यस्तै मर्स्यांदी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाका लागि बेसीशहर नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको १६.२८ र भेरीगंगा नगरपालिकामा बसपार्क निर्माण र सञ्चालनका लागि वडा नं १२ मा रहेको राष्ट्रिय वन क्षेत्रको २.१५ हेक्टर जग्गा उपलब्ध गराउने निर्णय गरेको हो।

त्यसैगरी माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाका लागि लमजुङको दोर्दी गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको १.३१७ हेक्टर तथा चुनढुंगा उत्खननका लागि बराही क्वेरिज प्रालिलाई तनहुँको व्यास नगरपालिका अन्तरगतको सामुदायिक र राष्ट्रिय वन क्षेत्रको ४.८५ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय भएको हो।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा चुनढुंगा उत्खननका लागि ललितपुरको गोदावरी नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ४.२ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय भएको जनाइएको छ।

त्यसैगरी सरकारले व्यवसाय सञ्चालनको सहज वातावरण निर्माणका लागि संस्थागत संरचना स्वीकृत गरेको छ।

त्यसैगरी सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको छानबीन समितिको म्याद २८ मंसीर २०७६ सम्म थप पनि गरिएको छ।

नेपाल र फ्रान्सका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मीलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्