कोभिड-१९ प्रभाव : पहिलो पटक रोकियो बालाजु बाइसधाराको मेला

काठमाडौं। हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड- १९ का कारण स्थगन गरिएको छ।

लकडाउन र कोरोना भाइरस संक्रमणको जोखिमका कारण भोलि मेला आयोजना नगरिए पनि पूजाआराधना भने गरिने बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले जानकारी दिए।

बाइधारा क्षेत्रवासी एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौँदेखि चलिआएको यो मेला यस वर्ष स्थगन गरिएको बताए।

मन्त्री मानन्धरले इतिहासमा पहिलो पटक स्थगन भएको बताउँदै नित्य पूजा र अन्य पूजा भने चलिरहने व्यवस्था मिलाइएको जानकारी दिए।

जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ।

यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ।

मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ ।

नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि शुरु हुने परम्परा थियो।

यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

बाइसधारामा नुहाउँदा छालाका रोगसमेत निको हुने भक्तजन बताउँछन् ।

किंवदन्तीअनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको थियो।

यसै मान्यतानुसार बाइसधारा जात्रा मनाइने चलन रहिआएको मानिन्छ। रासस

प्रतिक्रिया दिनुहोस्