राजकीय भ्रमण पूरा, चिनियाँ राष्ट्रपति फर्किए

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हिँजो काठमाडौं आइपुगेका सीलाई राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा मन्त्रिपरिषद्का सदस्यलगायतले त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरेका छन्।

स्वदेश फर्कनुअघि चिनियाँ राष्‍ट्रपति सी र प्रधानमन्त्री ओलीले नेतृत्व गरेका दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय हितका विषयमा वार्ता भएको थियो। त्यस क्रममा नेपाल र चीनबीच २० बुँदे सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सी चिनफिङ हिजो अपरान्ह ४ः४६ मा चाइना एयरको विमानबाट काठमाडौं ओर्लिएका थिए। सीलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर दिएको थियो।

त्यसपश्चात चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको थियो। राष्ट्रपति भण्डारीसँगको भेटमा सीले नेपाललाई दुई वर्षभित्रमा ५६ अर्ब बराबरको सहयोगको घोषणा गरेका छन्।

त्यसपश्चात सोल्टी होटलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रपति सीबीच भेटघाट भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय रात्रीभोजमा सी सरिक भएका थिए।

सो अवसरमा सीले नेपाललाई भूपरिवेष्ठित देशबााट भूजडित देशमा लैजान सहयोगको प्रतिवद्धता जनाए।

आजै विहान सीको नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग वान–अन–वान र नेकपाका सचिवालय सदस्यहरुबीच भेटवार्ता भयो।

त्यस्तै चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि छुट्टै भेटवार्ता भयो।

२३ वर्षपछि नेपालमा चिनियाँ राष्‍ट्रपतिको भ्रमण भएको हो।

प्रतिक्रिया दिनुहोस्