चितवनमा नौ महीनामा २२ गैँडा मरे

चितवन। चितवन राष्‍ट्रिय निकुञ्‍जमा नौ महीनामा २२ वटा गैँडा मरेका छन्।

निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले बताएका छन्।

उनका अनुसार गत साउनदेखि हाल सम्म २२ वटा गैँडा प्राकृतिक कारणले मरेका छन्।

पछिल्लो पटक ४ चैतमा पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ।

यस अघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैँडा मरेका थिए।

विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन्।

गैँडाको मृत्युदर बढेपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ।

विगत केही वर्षयता चोरी शिकारीबाट भने गैँडा मारिएका छैनन्।

गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए।

आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७३/७४ मा २५ गैँडा मरेको निकुञ्‍जको तथ्यांक छ।

पाँच प्रतिशत गैँडाको मृत्युलाई सामान्य मानिन्छ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा छन्। रासस

प्रतिक्रिया दिनुहोस्