एसइई परीक्षा केन्द्र पुग्‍न आठ घण्टा हिउँकाे यात्रा !
म्याग्दी। ६ चैतबाट शुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन यहाँका दुर्गम वस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गर्नुपरेकाे छ।

म्याग्दीको धवलागिरि गाउँपालिका-१, गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा पुग्न हिउँको यात्रा छिचोलेका हुन्।

हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर आएको विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए।

तीन दिनअघि परेको बेमौसमी हिमपातले गुर्जादेखि लुलाङमाथिको जङ्गलसम्म अझै बाक्लो हिउँ छ। बाक्लो हिउँले बाटो पुरिएको र हिमपातसँगै जङ्गलमा गएको पहिरोका कारण कष्टकर तवरले यात्रा गरी परीक्षा केन्द्रमा आइपुगेको सुवेदीकाे भनाइ छ।

परीक्षा केन्द्र रहेको सिवाङ आइपुग्न गुर्जाबाट करीब १० घण्टा बढीको पैदल यात्रा गर्नुपर्छ। गुर्जा जिल्लाको सबैभन्दा विकट गाउँका रूपमा चिनिन्छ।

म्याग्दीमा यस वर्ष एसईई परीक्षामा दुई हजार १९७ जनाले सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। परीक्षामा एक हजार ११० छात्रा र एक हजार ८७ छात्र सहभागी हुने एकाइका प्रमुख दलबहादुर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्