तनहुँमा ५१ विद्यार्थी एसईई परीक्षाबाट वञ्चित
तनहुँ। ६ चैतदेखि हुने एसईई परीक्षामा तनहुँका ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्।

विभिन्न विद्यालयका गरी छात्रा ३४ र छात्र १७ गरी ५१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन्।

परीक्षा दिन फारम भरेर बीचैमा विद्यालय आउन छाडेका, कोही बिहे भई गएका र कोही रोजगारीको सिलसिलामा विदेशिएका कारण उनीहरू परीक्षा दिनबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मीले जानकारी दिए।

उनका अनुसार सामुदायिक विद्यालयतर्फका ११६ विद्यालयबाट दुई हजार ५२१ छात्रा, दुई हजार २२५ छात्र गरी चार हजार ७४६ र संस्थागत विद्यालयतर्फका ५८ विद्यालयबाट ६११ छात्रा र ८७३ छात्र गरी एक हजार ४८४ गरी कूल छ हजार २३० विद्यार्थी यस परीक्षामा सामेल हुने भएका छन्। जसमा छात्रातर्फ तीन हजार १३२ र छात्रतर्फ तीन हजार ९८ छन्।

गत वर्ष जिल्लामा छ हजार २९१ विद्यार्थीले परीक्षा दिएका थिए। गत वर्षको तुलनामा यस वर्ष ६१ विद्यार्थी कम छन्।

प्रतिक्रिया दिनुहोस्