टिपरको ठक्करबाट आमाछोरीको मृत्युपछि तनावग्रस्त पनौतीमा कर्फ्यू लगाइयो

काठमाडौं। टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि तनावग्रस्त बनेको काभ्रेपलाञ्चोकको पनौती बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, काभ्रेले कर्फ्यू लगाएको छ।

मृतकका आफन्त तथा आक्रोशित स्थानीयले प्रदर्शन जारी राखेका कारण थप घटना हुन नदिन सुरक्षा सतर्कता अपनाउँदै आज बिहान ९ बजेदेखि अनिश्‍चितकालीन कर्फ्यू लगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

"पनौती बजार क्षेत्र वरपर चारकिल्ला तोकेर कर्फ्यू जारी गरिएको हो। स्थिति सामान्य भएपछि हटाउँछौ", तिमिल्सिनाले देखापढीसँग भने।

हिजो, ३ फागुन अपरान्ह बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा. ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट पैदल हिँडिरहेका खानिखोला गाउँपालिका-१ की २६ वर्षीया जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो।

घटनापश्चात आक्रोशित भीडले ढुंगामुढासहित प्रदर्शन गरेपछि बजार क्षेत्र तनावपूर्ण बनेको थियो।

भीडलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाई फायर र पाँच राउण्ड टियरग्यास प्रहार गरेको थियो।

प्रदर्शनकारीको आक्रमणबाट पाँचजना प्रहरी घाइते भएको प्रहरीले बताएको छ।

मृतकका आफन्तसँग वार्ताको प्रयास भइरहेको प्रजिअ तिमिल्सनाले बताएका छन्।

उनले भने, "गाडी धनी बोलाइसकेका छौं। मृतकका परिवार गाउँबाट आउँदै हुनुहुन्छ।"

प्रतिक्रिया दिनुहोस्