तनहुँमा २१ महीनाकी बालिकामाथि चितुवाको आक्रमण
तनहुँ। चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका-३ बनकेवामा एक बालिका घाइते भएकी छन्।

घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेकी २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

हिजो, ३ फागुन साँझ घरमै ती बालिकालाई चितुवाले आक्रमण गरेको इन्सपेक्टर जगदीश रेग्मीले जानकारी दिए।

“छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गरेको रहेछ”, रेग्मीले भने, “होहल्लापछि चितुवा भाग्यो।”

बालिकाको पेटमा सामान्य चोट लागेको छ । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ।

तनहुँमा चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन्।

भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतंक छ।

पछिल्लो २० महीनामा तनहुँमा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ।

हालसम्म जिल्लामा सात चितुवा नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्