भण्डारी दम्पती हत्यामा संलग्न आशंकामा छोरा पक्राउ

कैलाली। कंचनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको भण्डारी दम्पती हत्यामा संलग्‍न आरोपमा प्रहरीले अनुसन्धानका लागि मृतकका छोरालाई पक्राउ गरेको छ।

गत १५ फागुनमा घरभित्रै मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको आशंकामा छोरा भरत भण्डारीलाई डडेलधुरा प्रहरीले पक्राउ गरेको हो।

उनलाई डडेल्धुराबाट कंचनपुर ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता डीएसपी रविन्द्रनाथ पौडेलले अनुसन्धानको क्रममा भरतले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा देखिएको जानकारी दिए।

आज दिउँसो १ बजे पत्रकार सम्‍मेलनमार्फत भरलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

भण्डारी दम्पती र छोरा भरतबीच लामो समयदेखि सम्पत्तिको विषयमा घरायसी विवाद रहेको स्थानीयले बताएका छन्।

जेठी श्रीमतीको मृत्युपछि जयलालले धनालाई दुई वर्षअघि बिहे गरेका थिए।

आमाबुबाको हत्यापछि घरमा बेहोश भेटिएकी सात महिनाकी छोरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

चिकित्सकका अनुसार उनको अवस्था सुधारोन्मुख रहेको छ।

प्रतिक्रिया दिनुहोस्