पेन्टागुलर सिरिज : ओमानसँग नेपाल ६ विकेटले पराजित

काठमाडौं । कमजोर ब्याटिङ गर्दा ‘ओमान पेन्टागुलर टी-२० अन्तर्राष्ट्रिय सिरिज’ को अन्तिम खेलमा नेपाल घरेलु टोली ओमानसँग ६ विकेटले पराजित भएको छ।

यसअघि खेलेको तीन खेलमा मध्यम ब्याटिङ गरेको नेपालले ओमानविरुद्ध भने निकै फितलो ब्याटिङ गर्दा जम्मा ६४ रनमा अलआउट भएको थियो।

६५ रनको लक्ष्य ओमानले ११.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो।

ओमानको जितमा विकेटकिपर ब्याट्सम्यान सुरज कुमारले नटआउट ४२ रन बनाए। उनले ३० बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रोमा नेदरल्याण्ड्सलाई समान ४ विकेटले हराएको थियो। तेस्रो खेलमा भने टेष्ट राष्ट्र आयरल्याण्डसँग १३ रनले पराजित भएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब ब्याटिङ गर्दा ११ ओभर मात्र क्रिजमा टिक्यो र ६४ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले २० र दीपेन्द्र सिंह ऐरिले ११ रन बनाउनु बाहेक बाँकी खेलाडीले दोहोरो अंककाे रनसमेत बनाउन सकेनन्।

नेपाललाई कम स्कोरमा अलआउट गर्न अमिर कलिम एक्लैले ५ विकेट लिए। कलिमले ४ ओभरमा १५ रन मात्र खर्चिए। यस्तै बिलाल खानले २ विकेट लिए। पाँच राष्ट्र सहभागी सिरिजमा घरेलु टोली ओमानले अपराजित रहँदै सिरिज जितेको छ।

ओमानले सबै चार खेल जितेको हो। चारमध्धे दुईमा जित र दुईमा हार को नतिजा निकालेको नेपाल ४ अंकसहित तेस्रो भयो। तीन जित र एक हारसहित आयरल्याण्ड दोस्रो भयो। आजै भएको खेलमा हङकङलाई पराजित गर्दै नेदरल्याण्ड्स चौथो भयो। हङकङ भने जितविहीन बन्यो।

प्रतिक्रिया दिनुहोस्