अज्ञात समूहद्वारा डोजरमा आगजनी

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका-६ रातोढुंगामा स्काभेटर र ब्याकुहोलोडरमा अज्ञात समूहले आगजनी गरेका छन्।

क्याराभान कन्ट्रक्सनले बेनी-दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा-दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराति आगजनी भएको हो।

आगजनीबाट ब्याकुहोलोडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका इन्सपेक्टर रामचन्द्र अधिकारीले बताए।

प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए।

आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए।

कम्पनीका संचालक सोमनाथ थकालीले आगजनीबाट एक करोडभन्दा बढीको क्षति भएको छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने छ किलोमिटर सडक कालोपत्रे गर्न क्याराभान कन्ट्रक्सनले गत जेठमा ठेक्का लिएको थियो ।

म्याग्दीमा यसअघि गत साउनमा बेनी नगरपालिका-५ बगुवाखोलामा बिएन कन्ट्रक्सनका तीन वटा स्काभेटरमा आगजनी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्