किन सर्यो गैँडा गणना ?

काठमाडौं। १ चैतबाट गैँडा गणनाको तयारी गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा गणना केही समयका लागि सारेको छ।

मौसम अनुकूल नभएको भन्दै गैँडा गणना केही समयका लागि सारिएको विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले देखापढीलाई बताए।

“अहिले यही मितिमा गैँडा गणना गर्न सकिन्छ भनेर भन्न सकिने अवस्था छैन”, उनले भने, “मौसम अनुकूल भयो भने गैँडा गणना गर्न सकिन्छ।”

गैँडा गणनाका लागि मौसम घमाइलो हुनुपर्छ भने निकुञ्जभित्रका घाँसको व्यवस्थापन गर्नुपर्ने हुन्छ। “हामी गैँडा गणनाका लागि तयारी अवस्थामा छौं”, भट्टराई भन्छन्, “निकुञ्जमा घाँस अग्लो र हरियो छ, पानी पनि परेकाे छ। त्यसैले आगो लगाउन सकिएको छैन।”

चितवन राष्ट्रिय निकुञ्जबाट शुरू गरिने गैँडा गणनामा गणक, हात्तीसारका कर्मचारीलगायत डेढ सय जनशक्ति परिचालन हुनेछन्। करीब २५ दिनभित्रमा गैँडा गणना सकिने विभागको भनाइ छ।

विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठका अनुसार मौसम सुधार भएमा चैत दोस्रो साताभित्र गैँडा गणना शुरू गर्ने तयारी छ। “मौसमले साथ दिएमा चैत दोस्रो साताबाट गर्न सकिन्छ कि भन्ने हाम्रो अनुमान छ”, उनले भने।

सन् २०१५ मा गरिएको गणनामा ६४५ गैँडा रेकर्ड भएका थिए।

प्रतिक्रिया दिनुहोस्