नेपाली प्राध्यापकका नाममा अक्स्फोर्ड विश्वविद्यालयले स्थापना गर्यो दुई पुरस्कार

लन्डन। अक्स्फोर्ड विश्वविद्यालयले आफ्नो कानून संकायका उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने गरी प्राध्यापक सूर्यप्रसाद सुवेदीको नाममा दुई वटा पुरस्कार स्थापना गरेको छ।

त्यसमध्ये एक ‘मानवअधिकार कानूनमा डा. सूर्य सुवेदी पुरस्कार’ हो। यो पुरस्कार हरेक वर्ष मानवअधिकारसम्बन्धी कानून विषयमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई प्रदान गरिनेछ।

अर्को पुरस्कार अक्स्फोर्ड विश्वविद्यालयमा हरेक वर्ष पीएचडीको उत्कृष्ट थेसिस लेख्ने विद्यार्थीलाई प्रदान गरिनेछ।

यो पुरस्कारको नाम ‘डा. सूर्य सुवेदी प्राइज फर द डीफील इन ल’ राखिएको छ । डीफील अक्स्फोर्ड विश्वविद्यालयको पीएचडीसरहको कार्यक्रम हो।

आफ्नो अध्ययनको विषयमा मौलिक योगदान दिने, संरचना, शैली र प्रस्तुतिमा पनि उत्कृष्ट थेसिसलाई डीफील पुरस्कार प्रदान गरिनेछ।

प्राध्यापक सुवेदी अक्स्फोर्ड विश्वविद्यालयका पूर्वविद्यार्थी हुन्। उनले सन् १९९३ मा अक्स्फोर्डबाटै डीफिल गरेका थिए।

अक्स्फोर्ड विश्वविद्यालयले अघिल्लो वर्ष प्राध्यापक सुवेदीलाई अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको विकासमा महत्वपूर्ण योगदान दिएबापत महाविद्यावारिधिबाट सम्मान गरेको थियो। अक्स्फोर्ड विश्वविद्यालयले यस्तो उच्च सम्मान अपवादमा मात्रै प्रदान गर्छ।

सुवेदी अहिले बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक छन्।

प्रतिक्रिया दिनुहोस्