गाडी छाडेर रोलर किने नगरप्रमुखले

सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरेको छ। नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको ३१ असारमा सम्पन्न नगरसभाले प्रमुखका लागि गाडी खरिद गर्न ५० लाख रुपैयाँ छुट्याएको थियो। सोही रकमबाट ४२ लाखमा रोलर र छ लाखमा पानी हाल्ने ट्याङ्की खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ललनकुमार कर्णले जानकारी दिए।

नगरपालिकामा रहेको स.१ज ४९० नम्बरको गाडी प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको छ। नगरप्रमुख र उपप्रमुखका लागि गाडी अभाव भएपछि नगरसभाले नै गाडी खरिद गर्ने निर्णय गरेको थियो। तर, गत मंसीरमा बसेको कार्यपालिकाको बैठकले गाडीलाई छुट्याएको बजेट रकमान्तर गरी निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गर्ने निर्णय गरेको नगरउपप्रमुख आशा चौधरीले जानकारी दिइन्।

“नगरको आवश्यकताअनुसार उक्त निर्णय गरिएको हो”, नगरप्रमुख शर्माले भनिन्। नगरपालिकाले नगरवासीको आवश्यकतालाई मध्यनजर गरी एक महीनाभित्र एम्बुलेन्स सञ्चालनमा ल्याउने गरी खरिदको प्रक्रियासमेत अघि बढाएको छ। “सामान्य अवस्थाबाहेक अधिकांश बिरामीलाई उपचारका लागि राजविराज, धरान र विराटनगर पुर्‍याउनुपर्ने हुनाले नगरपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएर नागरिकलाई सुविधा दिन खोजेको हो”, नगरप्रमुख शर्माले भने। रासस

प्रतिक्रिया दिनुहोस्