सुदूरपश्चिममा ‘भिटौला’ पर्व शुरु
दार्चुला। चैत महीनासँगै दार्चुलासहित सुदूरपश्चिमभरि भिटौला पर्व शुरु भएको छ। भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ।
आजदेखि चेलीबेटीलाई भेट्ने दिन शुरु हुन्छ। चैत महीना खडेरीको महीना पनि हो। यो महीनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ।
लेकमका इन्द्रदेव जोशीका अनुसार अहिले भिटौला पर्वको महत्व झन बढ्दै गएको छ। पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ। होली पर्वको महत्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ। “अरु संस्कृति बरु छोड्दै गएको पाइन्छ”, उनले भने, “तर यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसुस गर्ने गर्छन्।”
पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो। वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको पण्डित भोजराज पन्त बताउँछन्।
भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ। पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ। भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ। दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ।
चैत महीनामा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्व अझै गाउँघरतिर घटेको छैन। यो महीनाभरि एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ। यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने जनविश्वास छ।
भारतको उत्तराखण्ड राज्यमा चैतोल पर्वका नामबाट भिटौल पर्व मनाउने गरिन्छ। नरेन्द्रसिंह कार्की / रासस
प्रतिक्रिया दिनुहोस्