गणित र कम्प्युटर विषयको विवादबारे अध्ययन गर्न समिति गठन
काठमाडौं । कक्षा ११ र १२ को परिमार्जित पाठ्यक्रममा गणित र कम्प्युटर विषयलाई ऐच्छिक बनाइएकोबारे अध्ययन गर्न समिति गठन गरिएको छ।

इन्जिनियरिङ अध्ययन संस्थानको पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुवर्ण शाक्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो।

समितिले सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यदेश तोकिएको पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले देखापढीलाई बताए।

आउँदो शैक्षिक सत्रदेखि लागु गर्न लागिएको कक्षा ११ र १२ को परिमार्जित पाठ्यक्रममा गणित र कम्प्युटर विषयलाई अनिवार्य नबनाई ऐच्छिक विषयमा राखिएको भन्दै विज्ञहरूले विरोध जनाएका थिए।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले समिति गठन गरेर थप अध्ययन गर्न निर्देशन दिएका थिए।

सोही निर्देशन बमोजिम समिति गठन गरिएको सूचना अधिकारी भट्टराईले बताए।

समितिमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, पाठ्यक्रम विकास केन्द्रका गणित तथा विज्ञान शाखाका निर्देशक प्रमिला वखती र प्रकाश खतिवडा सदस्य छन्।

सदस्य सचिवमा भने केन्द्रका अधिकृत खिलानाथ धमलालाई तोकिएको छ।

समितिले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएका विषयत संरचनामा छलफल गर्न तथा साधारणतर्फ कक्षा ११ र १२ मा भौतिक विज्ञान, जीव विज्ञान र रसायन विज्ञान विषयका अतिरिक्त कम्प्युटर विज्ञान तथा गणित विषयबारे अध्ययन गर्नेछ।

त्यसका लागि गणित तथा कम्प्युटर विज्ञान विषयसँग सम्वन्धित विश्वविद्यालय र उच्च शिक्षासम्वद्ध सरोकारवालासँग अन्तरक्रिया र छलफल गरेर सुझाव दिन भनिएको छ।

कक्षा ११ र १२ मा गणित विषयलाई ऐच्छिक बनाउन नहुने भन्दै गणित विषयका विज्ञहरूले लामो समयदेखि विरोध जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्