साविक विजेता लिभरपुल स्तब्ध, खाली रंगशालामा पिएसजीको पुनरागमन

काठमाडौं। गोलकिपर एड्रिनको गल्तीमा साविक विजेता लिभरपुलले गएराति अन्तिम-१६ को दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई ३-२ तथा समग्रमा ४-२ को नतिजा सुम्पिएपछि च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको छ।

योर्गान क्लोपको लिभरपुलले पहिलो गोलमा १-० ले पछि परेको स्थिति घरेलु मैदान एनफिल्डमा उल्टाउने आशा गरिएको थियो।

जर्जिनो विजनाल्डमले पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा हेडमार्फत गोलबाट लिभरपुलले पुनरागमनको संकेत गरेको थियो।

दोस्रो हाफको अन्तिम मिनेटमा एन्ड्रयू रोबर्टसनको हेड क्रसबारमा लागेर फर्किएपछि लिभरपुलको जित टरेको थियो।

थपिएको समयमा रोबाटो फिर्मिनोले शुरूमै गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो।

तर, एट्लेटिकोका बैकल्पिक खेलाडी मार्कोस लोरेन्टेले ९७ र १०५ मिनेटमा गोल गरेपछि लिभरपुलको सम्भावना सकिएको थियो।

१२०औं मिनेटमा अल्भारो मोराटाले अर्को गोल थपेपछि एट्लेटिकोले लिभरपुललाई घरेलु मैदानमा स्तब्ध बनायो।

युरोपियन प्रतियोगितामा लिभरपुलले क्लोपको प्रशिक्षणमा एनफिल्डमा हारेको यो पहिलो हो।

घरेलु मैदानमा यसअघि लिभरपुल अक्टुबोर २०१४ मा पराजित भएको थियो।

एट्लेटिकोले च्याम्पियन्स लिगको नकआउट चरणमा पहिलो लेग जित्दा पछिल्ला छ मध्ये पाँच खेल जित जितेको छ।

गत सिजन भने पहिलो लेग २-० ले जितेर पनि युभेन्टससँग दोस्रो लेगमा ३-० ले पराजित भएको थियो।

लिभरपुलले च्याम्पियन्स लिगको नकआउट चरणमा दुबै लेग हारेको २००५/०६ पछि यो पहिलो हो।

२००५/०६ मा लिभरपुल बेनफिकासँग पराजित भएको थियो।

गएराति नै सम्पन्न अर्को खेलमा पेसिस सेन्ट जर्मन (पिएसजी) ले भने उत्कृष्ट पुनरागमन गर्‍यो।

पिएसजीले पहिलो लेगमा २-१ ले पछि परेको स्थिति उल्टाउँदै बोरुसिया डर्टमण्डलाई २-० तथा समग्रमा ३-२ ले पराजित गर्‍यो।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण खाली रंगशालामा खेलिएको खेलमा पिएसजीको जितमा नेइमारले २८औं मिनेटमा गोल गरे।

युआन बर्नाटले ४५औं मिनेटमा गरेको गोल पिएसजीका लागि निर्णायक बन्यो।

८९औं मिनेटमा इम्रे क्यानले रातो कार्ड खाएपछि डर्टमण्ड दश खेलाडीमा सिमित भएको थियो।

पहिलो लेगमा जर्मन बुन्डेसलिगाको क्लब डर्टमण्डले २-१ को नतिजा निकालेको थियो।

रंगशाला खाली गरिए पनि ठूलो संख्यामा पिएसजीका समर्थक रंगशालाबाहिर भेला भएका थिए।