फर्कियो नेपाली बक्सिङ टोली
काठमाडौं। जोर्डनको अमानमा सम्पन्न एशिया/ओसियाना टोकियो ओलम्पिक-२०२० बक्सिङ छनोटमा सहभागी भई नेपाली बक्सिङ टोली स्वदेश फर्किएको छ।

३-११ मार्चमा भएको प्रतियोगितामा पुरुष ६३ किलो तौल समूहमा सुनिल शाही र महिला ५७ किलो तौल समूहमा मीनु गुरुङले प्रतिस्पर्धा गरेका थिए।

जोर्डनमा सुनिलले एक बाउट जितेका थिए। उनले कीर्गिस्तानका उन्मोनोभ बखोदुरलाई पराजित गरेका थिए।

नेपाली बक्सिङको इतिहासमा कुनै पनि खेलाडीले ओलम्पिक छनोटमा हासिल गरेको यो नै पहिलो जित भएको नेपाल बक्सिङ संघले जनाएको छ।

मीनु भने कोरियाली खेलाडी इम अईजीसँग पहिलो चरणमै पराजित भएकी थिइन्। सुनिल र मीनु दुवै १३औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन्।

प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापामगर र अलिशेर राखिमोभ गएका थिए। टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्