पाँचजना डीएसपीको काज सरूवा, बौद्धमा नवीन कार्की
काठमाडाैं। प्रहरी प्रधान कार्यालयले पाँचजना प्रहरी नायव उपरीक्षक(डीएसपी)को काज सरूवा गरेको छ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले पाँचजना डीएसपीको काज सरूवा गरिएको पुष्टि गरे।

“आवश्यकताअनुसार काज सरूवा नियमित हुने प्रक्रिया हो”, उनले भने, “त्यसैअनुसार पाँचजना डीएसपीको काज सरूवा गरिएको हो।”

उनका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीको महानगरीय प्रहरी वृत बौद्धमा काज सरूवा गरिएको छ।

यस्तै रौतहटमा डीएसपी भरत श्रेष्ठलाई पठाइएको छ। बौद्धमा रहेका डीएसपी रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा काज सरूवा गरिएको छ।

डीएसपी मदन कुँवरलाई सर्लाही र प्रतीकसिंह राठौरलाई सर्लाहीबाट प्रहरी प्रधान कार्यालयमा काज सरूवा गरिएको छ।

बौद्धमा सरूवा गरिएका डीएसपी कार्की रौतहटमा मानिसलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताब आलमलाई पक्राउ गर्न फिल्डमा खटिएका अधिकृत हुन्।

जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका एसपी भूपेन्द्र खत्रीले आलमलाई पक्राउ गर्न डीएसपी कार्कीसहित प्रहरी निरीक्षक पप्पु नायकलाई खटाएका थिए।

एसपी खत्री र डीएसपी कार्कीसहितको टीमले आलमलाई पक्राउ गरेर १२ वर्षअघिको घटनाका महत्त्वपूर्ण प्रमाणहरू संकलन गर्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्